• २०८१ बैशाख १५ शनिबार

प्रधानमन्त्री ओलीको कार्यकर्तालाई निर्देशन -अरिंगालले जस्तै प्रतिवादमा उत्रिनुस् 

kharibot

काठमाडौँ। नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सरकारविरुद्ध चौतर्फी आक्रमण भइरहँदा पनि प्रतिवाद नगरेकोमा पार्टीका नेता–कार्यकर्ताप्रति आक्रोश पोखेका छन् । तत्कालीन माओवादी नेता पोस्टबहादुर बोगटीको चौथो स्मृति दिवस कार्यक्रममा बोल्दै ओलीले अरिंगालले जस्तै एकजुट भएर प्रतिवादमा उत्रन निर्देशन दिए ।

‘एउटा अरिंगाललाई चलाउनुभयो भने सिंगै गोलो खनिन्छ तर हामीसँग अरिंगालको जति पनि बुद्धि छ कि छैन?’, ओलीले भने, ‘त्यो हामीले हेर्नुपर्ने भएको छ। एउटा अरिंगाललाई मार्‍यो भने त्यसलाई मार्‍यो ठिकै छ, अर्कोलाई हमला गर्‍यो ठीकै छ भन्ने कि एकजुट भएर प्रतिवाद गर्ने?’

देशी-विदेशी प्रतिक्रियावादीले पार्टी र सरकारविरुद्ध निरन्तर हमला गरिरहेको बताए। ‘आफूलाई केही कुरामा चित्त बुझेन भने त्यस्तो हमलालाई जवाफ दिँदैनौं, यसो हेर्‍यो प्रचण्डलाई हमला गरेको रहेछ ठिकै भएछ भन्छौं, अनि मलाई हमला गरेका बेला ओलीलाई हमला गरेको रहेछ ठीकै भएछ भन्छौं’, उनले थपे, ‘यसले जनतामा निराशा पैदा गर्छ। प्रतिक्रियावादीहरू उत्साही हुन्छन्।’

ओलीले दुई अध्यक्षबीच फाटो ल्याएर एकतामा भाँजो हाल्न खोजिएको समेत बताए। ‘पार्टी एकतालाई भत्काउन दुई नेताबीच अन्तरविरोध चर्काउने, भाँजो हाल्ने र घुसपैठ गर्ने काम भइरहेको छ’, उनले भने, ‘यो षडयन्त्रप्रति सबै सचेत हुनुपर्छ।’

कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, बामदेव गौतम, विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापालगायत नेता उपस्थित थिए। अध्यक्ष प्रचण्डले भने सरकारको खासै बचाउन गरेनन्, बरु प्रधानम्न्त्रीलाई जनअपेक्षाअनुसार काम गर्न सुझाव दिए। ‘जनअपेक्षाअनुसार काम गर्नका लागि आफूलाई प्रतिबद्ध गर्नु नै कमरोड पोस्टबहादुर बोगटीप्रति श्रद्धाञ्जली हुनेछ’, प्रचण्डको भनाइ थियो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय