• २०८१ बैशाख १४ शुक्रबार

प्रोटिनको कमीले आउन सक्छन् यस्ता समस्या 

kharibot

शरीरलाई स्वस्थ राख्न फ्याट, सोडियम, पोटासियम, कार्बोहाड्रेट, सुगर, भिटामिन, क्याल्सियम, आइरन र प्रोटिनको अत्यन्त आवश्यकता पर्छ । यी सबैको सन्तुलनले नै शरीरलाई स्वस्थ राख्दछ ।

यी सबैमध्ये हड्डी, मांसपेशी र मुटुको स्वास्थ्यका लागि प्रोटिन अत्यन्त आवश्यक तत्त्व हो । हरेक पोषक तत्त्वझैं शरीरलाई प्रोटिनको पनि निश्चित मात्रामा आवश्यकता पर्छ । तर, प्रोटिन धेरै हुनु अथवा कम हुनु दुवै स्वास्थ्यको लागि हानिकारक छ ।

विशेषगरी यसको कमीले मानिसको शरीर कमजोर हुनुका साथै अन्य समस्या पनि देखा पर्न सक्छ । यो पर्याप्त मात्रामा नहुनाले मांसपेशी र हड्डीका साथै मुटुसम्बन्धी अुनेक समस्या उत्पन्न हुन सक्छ । यसको कमीले शरीरमा यस्ता समस्याहरू हुन सक्छन् :   
तौल अचानक कम हुँदै जानु 
सामान्यतया मानिसको तौल घटबढ भइरहन्छ । तर, यदि शरीरमा प्रोटिनको मात्रा कम छ भने शरीरलाई आवश्यक प्रोटिन यसले मांसपेशीलाई टुक्राएर मांसपेशीबाट लिन थाल्छ र अचानक तौलमा तीव्र गतिमा कमी आउँछ । 

हेमोग्लोबिनको कमी
हेमोग्लोबिन अर्थात् सेतो रक्तकोषिका प्रोटिनबाट नै बन्ने भएकाले शरीरमा प्रोटिनको कमी भएमा हेमोग्लोबिनमा कमी आउँछ र यसले प्रतिरोधात्मक क्षमतामा कमी ल्याउँछ । 

कपाल कमजोर हुनु 
तौल कम हुनुका साथै प्रोटिनको कमीले कपाल पनि कमजोर हुँदै जान्छ । कपाल पलाउन पनि प्रोटिनको आवश्यकता हुन्छ । त्यसैले प्रोटिनको कमीले कपाल कमजोर हुने, कपालमा हाँगा पलाउने, झर्ने जस्ता समस्या देखा पर्न थाल्छ ।  त्यस्तै, नङ कमजोर हुनुले पनि शरीरमा प्रोटिनको कमी भएको सङ्केत गर्छ । 

शरीरमा एडेमा(पानी फोका) हुनु 
प्रोटिनको कमीले एडेमा अर्थात् शरीरको केही भागमा पानी फोका देखिन सक्छ । प्रोटिनले शरीरमा पानीको मात्रालाई सन्तुलित राख्ने भएकाले यसको कमी भएमा शरीरमा पानीको मात्रा असन्तुलित हुन गई यस्ता समस्या देखा पर्छन् । विशेषतः हातपाउमा यस्तो समस्या देखिन सक्छ । 

अन्य समस्या 
छाला फुस्रो हुनु अथवा छालामा धर्सा देखिनु पनि प्रोटिनको कमीका कारण हुन सक्छ । शरीर कमजोर भएको महसूस हुनु, निद्रा धेरै लाग्नु, घाउ लागेको छ भने ठीक हुन धेरै समय लाग्नु बारम्बार भोक लाग्नु, मांसपेशी र जोर्नी दुखिरहनु, शरीरमा ऊर्जाको कमी हुनु, टाउको दुख्नु, रिङ्गटा लाग्नु, थकानको महसूस हुनु आदि प्रोटिनको कमीले हुने समस्याहरू हुन् । अहिले यस्ता समस्या अधिकांश व्यक्तिमा देखिने गरेको छ । 

प्रोटिनको कमीले सामान्यदेखि गम्भीर समस्या पनि देखा पर्न सक्छ । सन्तुलित आहारको कमी, प्रोटिनको स्रोत राम्ररी थाहा नहुनु, नियमित एकै प्रकारको आहार गर्नु आदि कारणले शरीरमा प्रोटिनको कमी हुन गई माथि उल्लिखित समस्याहरू शरीरमा देखिन सक्छन् । त्यसैले शरीरमा प्रोटिनको मात्रालाई सन्तुलित राखिराख्नु आवश्यक छ । कतिपय मानिस प्रोटिनको आवश्यकता खेलाडी र बडीबिल्डरलाई मात्र हुन्छ भन्ने सोच्छन् । यो अत्यन्त गलत हो । हरेक व्यक्तिलाई प्रोटिनको आवश्यकता हुन्छ । 

प्रोटिन माछा, मासु र अण्डामा प्रशस्त मात्रामा पाइने भएकाले ननभेज खानेलाई यसको समस्या कम भए पनि शाकाहारी मानिसलाई भने माछामासुबाहेक प्रोटिन पाइने आहारको जानकारी कम हुने गरेकाले प्रोटिनको कमीले यस्तो समस्या धेरै देखिने गरेको छ । दूध, चिज, पनिर, टोफु, नौनी, गेडागुडी, दाल, सोयाबिन, फर्सी–काँक्रो आदिको बियाँ, गहुँको रोटी, पालुङ्गोको साग, जौको रोटी र चिउरा आदि प्रशस्त मात्रामा प्रोटिन पाइने शाकाहारी आहार हुन् । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै