• २०८१ बैशाख १४ शुक्रबार

बाघको सङ्ख्या बढाएकोमा विश्व वन्यजन्तु कोषद्वारा नेपालको प्रशंसा 

kharibot

तस्वीर : विश्व वन्यजन्तु कोष

काठमाडौँ । विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ)ले बाघ संरक्षणमा नेपालले पाएको सफलताको प्रशंसा गरेको छ । 

कोषले सन् २०१० देखि २२ सम्म बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएकोमा नेपाल चार वर्षअघि नै उक्त लक्ष्यको नजीक पुगेको भन्दै कोषले नेपालको प्रशंसा गरेको हो । 

नेपालमा हाल करीब २ सय २५ ओटा बाघ रहेको र यो सन् २०१० को तुलनामा करीब दोब्बर भएको हालैको एक अध्ययनबाट पत्ता लागेको भनी कोषले उल्लेख गरेको छ । कोषले सन् २०२२ सम्म बाघको सङ्ख्या दोब्बर बनाउने घोषणा गरेका १३ देशमध्ये सानो हिमाली देशको यो नतिजा निकै उत्साहजनक र अभूतपूर्व रहेको भनी प्रशंसा गरेको हो । 

बाघ हुने अन्य देशलाई बाघको संरक्षणमा कदम अघि बढाउन र समान इच्छा तथा सफलताका लागि प्रतिबद्ध हुन नेपाल उदाहरण बनेको विश्व वन्यजन्तु कोषका उपाध्यक्ष जिनेट हेम्लेले बताएका छन् । 

सन् २०१७ को नोभेम्बरदेखि २०१८ को मार्चसम्म राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन विभागले विश्व वन्यजन्तु कोषसँग मिलेर गरेको सर्वेक्षणमा यस्तो नतीजा आएको हो । 

विश्वमै बाघको प्रजनन दर घटिरहेको समयमा नेपालले यसरी बाघको सङ्ख्या बढेको समाचार दिनु निकै खुसीको कुरा रहेको कोषका नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङले बताएका छन् ।

विश्वमा हाल बाघको सङ्ख्या करीब ४ हजारभन्दा कम रहेको अवस्थामा नेपालले बाघको सङ्ख्या दोब्बर पु¥याउन केही सङ्ख्या मात्र बाँकी रहेको उनले जानकारी दिएका छन् । हाल बाघ संरक्षण विश्वको लागि ठूलो चुनौतीको रूपमा रहेको अवस्थामा नेपाल, भुटान, भारत र रसियाले यसमा राम्रो सुधार गरिरहेको कोषले बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै