• २०८१ बैशाख १४ शुक्रबार

बाघको संख्या घटेपछि राष्ट्रिय निकुञ्जको अध्ययन गरिँदै

kharibot

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको सङ्ख्यामा कमी देखिएपछि बाघ र गैँडाको सङ्ख्या बहन गर्न सक्ने क्षमता (क्यारिङ क्यापासिटी)को अध्ययन गरिने भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले निकुञ्जको बहन गर्न सक्ने क्षमता(क्यारिङ क्यापासिटी) कति छ भनेर अध्ययन गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलको संयोजकत्वमा टोली बनाइएको छ । जसमा विदेशी विशेषज्ञको समेत सहभागिता रहनेछ । हालैको प्रतिवेदनअनुसार यहाँ पाँच वर्षमा २७ बाघ घटेको देखिएपछि निकुञ्जमा पहिलोपटक यसरी अध्ययन गर्न लागिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जमा कुन वन्यजन्तुको कति बहन गर्न सक्ने क्षमता छ भनेर अहिलेसम्म अध्ययन भएको छैन । चितवन निकुञ्ज करीब ९५३ वर्ग किलोमिटरमा फैलिएको छ । यहाँको मध्यवर्ती क्षेत्र भने करीब ७२९ वर्ग किलोमिटरमा फैलिएको छ ।

सन् २०१३ को अनुगमनमा चितवन निकुञ्जमा १२० बाघ थियो । यसपटक ९३ मात्रै बाघ पाइएको छ । सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने सरकारी लक्ष्य रहेकाले पनि क्षमताको अध्ययन जरुरी रहेको निकुञ्ज विभागको भनाइ छ ।

पछिल्लो गणनामा चितवन निकुञ्जमा ६०५ गैँडा रहेको तथ्याङ्क छ । निकुञ्जमा हात्ती, भालु, गौरीगाई, चितुवा, जरायो, चित्तललगायत ठूला जनावरको समेत महत्वपूर्ण वासस्थान हो ।

नेपालकै पहिलो संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज बाघ र गैँडाको सबैभन्दा ठूलो वासस्थान हो । गणनापछि बर्दिया र शुक्लाफाँटामा केही गैँडा स्थानान्तरण गरिएको छ भने चीन सरकारलाई समेत दुई जोडी गैँडा उपहार दिइएको छ ।

अध्ययनका क्रममा बाघ, गैँडाका आहारा प्रजाति, वासस्थान, पानी, सुरक्षा, चोरी शिकारका चुनौती, चरीचरण भौगोलिक अवस्थालगायत सबै कुराको विश्लेषण हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै