धनगढी । सुदूरपश्चिम प्रदेशको संसद बैठक नेपाली काँग्रेसले बुधबार पनि अवरुद्ध गरेको छ ।
प्रदेशको राजधानीको विषयमा विरोध जनाएर पटक पटक स्थगित गर्दै आएको संसद बैठक बुधबार पनि प्रतिपक्ष दल कांग्रेसका सासंदले राजधानी र नामाकरणको घोषणा संसदीय प्रणाली अनुसार नभएको भन्दै अवज्ञा गरेका छन् ।
प्रतिपक्षले बैठक अवज्ञा गरे पनि संसद बैठक भने सुरु भएको थियो । बैठकको शुन्य समयमा बोल्दै सांसद कृष्णा सुवेदीले प्रदेश सातको नाम र राजधानी बहुमतका आधारमा पारित भइसकेकाले अब विरोध गरेर नहुने बताएकि थिइन् ।
उनले प्रतिपक्ष दलले पनि यसमा सर्मथन जनाएर प्रदेशको विकास लागि काम गर्नुपर्नुेमा जोड दिएकी थिइन् । बैठकमा कतिपय सांसदहरुले समयसामयिक राजधानीका विषयमा धारणा प्रस्तुत गरेका थिए भने कतिपयले अन्य विषयमा पनि बोलेका थिए ।
त्यसै समयमा बोल्दै सांसद पूर्णा जोशीले प्रेस स्वतन्त्राता माथि भइरहेको हस्तक्षेप र पछिल्लो समयमा लगातार बलात्कारका घटनाले प्रोत्साहन पाइरहेको भन्दै सरकारको ध्यानार्कषण गराएकी थिइन् ।
यस्तै सांसद लिलाधर भट्टले अहिलेको राजधानीका बारेमा भइरहेका टिका टिप्पणीले लोकतन्त्रलाई धरापमा पार्न खोजेको समेत बताए । बुधबारको संसद बैठक प्रमुख प्रतिपक्ष दलले अवज्ञा गरे पनि प्रतिपक्ष दल राजपा भने राजधानीप्रति सकरात्मक देखिएको छ ।
राष्ट्रिय जनता पार्टी राजपाका सांसद कृष्ण चौधरीले बैठकमा राजधानीका बारेमा सर्मथन गरेको भन्न नसके पनि यसप्रति सकरात्मक भएको प्रतिक्रिया दिएका छन् । उनले विरोध गरेर केही पनि प्राप्त गर्न नसकिने भएकाले अब प्रदेशको विकासका लागि प्रतिपक्षको नाताले काम गर्न साथ दिने बताए ।
बुधबार बसेको प्रदेशसभा बैठकमा प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७५ लाई सभामा पेस गरिएको हो ।
यस्तै बैठकमा प्रदेशसभा नियमावली २०७४ को नियम १५१ बमोजिम हुने विषयगत समितिका सभापतिको चुनाव मिति २०७५ असोज २२ गते निर्धारण गरिएको सभामुख अर्जुन थापाले जानकारी गराए ।