बारपाक (गोरखा) । जिल्लाको सुलिकोट बारपाक गाउँपालिकामा अहिले तराईमा धान झुलेजसरी कोदो फुलेको छ । छपक्कै भरिँदै गरेको कोदोको बाला टाढाबाट झट्ट हेर्दा निस्किनलागेको हरियो धानजस्तो देखिन्छ । बारीभरिको कोदोले भूकम्पले लपेटेको बारपाकलाई मनमोहक बनाएको छ ।
कोदो विश्वकै प्रमुख अन्नबाली हो । नेपालमा पनि धेरै ठाउँमा, डाँडापाखाहरुमा कोदो नै मुख्यबालीका रुपमा लगाइन्छ । गोरखा, धादिंगजस्ता पहाडी जिल्लामा वर्षात्को आकाशेपानीका भरमा कोदो लगाइन्छ ।
धानलाई धेरै पानी चाहिने भएका कारण तराईमा र पहाडका सिँचाइ पुग्ने स्थानहरुमा कोदोलाई धानले विस्थापन गरे पनि गाउँघर, लेक, पहाडमा कोदो, फापरजस्ता थोरै र आकाशेपानीले नै पुग्ने ठाउँमा कोदो नै मुख्य बाली हो ।
कोदाको ढिँडो, रोटीदेखि जाँड र रक्सीजस्ता पेयपदार्थहरु समेत बन्छ । कोदो समुद्रीसतहदेखि १८ सय मिटर उचाइसम्म खेती गर्न सकिन्छ ।
कोदोको बाला टिपिसकेपछि त्यसको बाँकी भागलाई नल भन्ने गरिन्छ जसले गाईभैँसीलाई हिउँदमा परालकै काम गर्छ । भारतको सिक्किम होस् कि नेपालको पहाड सबैतिर कोदो मुख्य अन्नबाली रहँदै आएको छ ।