• २०८१ बैशाख १५ शनिबार

पौरखी बारपाक

kharibot

गोरखा । ०७२ वैशाख १२ पछि अत्यधिक चर्चित नाम हो बारपाक, जो गोरखा जिल्लामा पर्छ ।

उक्त दिन गएको भूकम्पले नेपालका मुख्य १४ जिल्लालाई नराम्ररी प्रभावित गरेको थियो भने बारपाक उक्त भूकम्पको केन्द्रविन्दु थियो । सोही कारण पनि बारपाक उक्त मितिदेखि देश विदेशमा व्यापक चर्चा पाएको ठाउँ वा बस्ती बन्न पुग्यो । 

भूकम्पले थिलो थिलो पारेको बारपाकमा खरीबोट दशैँअघि मात्रै पुगेको थियो । रिपोर्टिङका लागि पुगेको खरीबोटले बारपाकलाई भूकम्पले क्षतविक्षत पारेको खण्डहर बस्तीको कल्पना गरे पनि दृश्य त्यस्तो पाएन ।

अधिकांश घरहरुको पुनर्निर्माण भएको, मानिसहरु आआफ्नो काममा सक्रिय रहेका, गाउँबारीका कोदोले हरियाली र नजिकै देखिने सुन्दर हिमालले बढाएको बारपाक साँच्चै पौरखी भइसकेको देखिन्थ्यो । 

बारपाककी महिलाहरु आफूलाई आवश्यक पर्ने गलबन्दी ,पछ्यौरी, टोपी, स्वीटर आफैँ बुन्ने गरिरहेका देखिन्थे ।

बाटोमा कुडुसमा धागो घुसार्दै बस्तीबाट माथि खर्कतिर काममा जान लागेकी कृष्णा कुमारी गुरुङसँग थोरै कुराकानी गर्ने मौका पनि मिल्यो । वर्षभरी यसरी नै गलबन्दी बुनी रह्यो भने १०० भन्दा बढी बनाउन सकिने उनले सुनाइन् । हामीले कमाइबारे पनि सोध्यौँ । उनको जवाफ थियो, ‘बेचेको छैन । आफ्नो परिवारको आवश्यकता अनुसारको विभिन्न घरबुनुवा पोसाक बनाएर लगाउने गर्दछौं ।’

बारपाकको जीवनशैली साँच्चै पौरखी देखिन्थ्यो । मानिसहरु समयको सदुपयोग हिँड्दा पनि गरिरहेका थिए । हात खाली राख्नु नपर्ने, कोही कसैसँग बोल्दा पनि उनीहरु कुनै न कुनै काम गरिरहेकै देखिन्थे । निकै अनुशरणीय र अनुकरणीय काम । 

यस्तैमा अर्की एक महिला भेटिइन् – तान लगाएर पछ्यौरा बुन्दै गरेकी । प्रतिपछ्यौरा २५ सयसम्ममा बेच्ने गरेको उनले सुनाइन् । पौरखी बारपाकबासी काम गरेर दाम कमाउन पनि सिकिसकेका रहेछन् । 

यतिमात्रै हैन, बारपाक पुग्दै गर्दा हामीले घाँसको भारी बोकेर आउँदै गरेका महिलाहरु भेट्यौं । भारीमाथि बच्चा राखी बारीबाट आउँदै गरेकी महिला । डोकोभरि दाउरा बोक्दै गरेको बच्चा । बूढीआमाहरु जगंलमा घाँस काट्दै गरेको पनि देखिए । स्वच्छ हावापानीको प्रभाव हुन सक्छ सायद । यहाँँ सबै जना मुस्काइरहेको देखिन्थे ।

त्यति धेरै सम्पन्न नभए पनि बारपाकबासीको जाँगरिलो मन र मुहारमा देखिएको प्रसन्नता साँच्चै लोभलाग्दो देखिन्थ्यो । त्यहाँ वृद्धवृद्धादेखि बालबच्चासम्मले पत्याउन गाह्रो हुने गरी काम गरेको हामीले देख्यौं ।  

त्यस्तै, बारपाककै एक खिमरानी घलेको सासुबुहारीले आफैँले मात्र गिटी फोरेर आफ्नो पक्की घर बनाएका रहेछन् । सुन्दा अचम्म अनि अपत्यारिलो लागे पनि कुराकानीकै सिलसिलामा गिट्टी फोर्दै गरेकी राममाया घलेले भनिन्, “अब घरको छेउछाउ पनि सफा गरौं भनेर गिट्टी फोरेको ।”

उनकी बुहारी खिमरानी लुगा सिलाउँछिन् भने उनको छोराले पनि घर बनाउने काम गर्ने गरेको उनले सुनाइन् । उनले भूकम्पपछि कपडा सिलाउन पनि सिकिन् । यसबाट राम्रो व्यापार हुने उनको भनाइ छ । 

भूकम्पअघिको बारपाकको बस्ती अहिलेजस्तो थिएन । ढुंगाले छाएका घर, ढुंगाकै चप्लेटी बिछ्याइएका बाटाहरु । पुरानो सौन्दर्यको झलक अहिले देखिँदैन । कायापलट भएको छ अहिले । ढुंगाको सट्टा निला जस्तापाताले ओत दिएको छ बारपाकलाई । सक्नेले पक्की घर नै ठड्याइसकेका छन् ।

यसमा सरकार, विभिन्न निजी संघ÷संस्थाले पनि सक्दो सहयोग गरेका छन् । अझ भूकम्पको केन्द्रविन्दु भएका कारण यस गाउँ घुम्न आउनेहरु बढेका छन् । आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दो छ । पिचै सडक नभए पनि अहिले कच्ची सडकले यातायातलाई बारपाक पुर्याएको छ । 

खानेपानीको सुविधा त छँदै छ बारपाकमा वीरबहादुर घलेको पहलमा भूकम्पअघि नै बिजुलीबत्ती बल्ने गरे पनि भूकम्पको कारण १ वर्ष पछिसम्म बारपाकमा बत्ती बलेन । अहिले पुनः झलमल्ल छ बारपाक । भेडाच्यांग्राको पालन, बुनिबुनाउ, खेतीपाती बारपाकको जीवनशैली झल्काउने विशेषताहरु हुन् । कोदो, मकै र भटमासको खेती बारपाकबासीले गरेका छन् । 

स्पष्टैसँग देखिन्थ्यो बारपाकबासीको पौरख, जसले ढाडस दिएको छ उनीहरुलाई । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै