• २०८१ बैशाख १४ शुक्रबार

व्यापार असन्तुलन व्यापकरुपमा बढ्यो, निर्यात १४ अर्बमा सीमित

kharibot

काठमाडौँ। मुलुकको व्यापार असन्तुलन व्यापकरुपमा बढेको छ । केन्द्रीय बैंकले चालू आवको दुई महीनाको तथ्याङ्कमा आधारित भएर सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा आयात ३८.५ प्रतिशतले बढेर रु दुई खर्ब ३२ अर्ब ३५ करोड पुगेको र निर्यात रु १४ अर्ब ७० करोडमा सीमित भएको उल्लेख गरिएको छ । 

चालू आव २०७५÷७६ को दुई महीनामा कूल वस्तु निर्यात आठ प्रतिशतले वृद्धि भई रु १४ अर्ब ७० करोड पुगेको तथा अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.२ प्रतिशतले वृद्धि भएको जनाइएको छ । गन्तव्यका आधारमा भारततर्फ १३.६, चीनतर्फ ११.४ र अन्य मुलुकतर्फ १.० प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा पोलिस्टर यार्न, जस्तापाता, दन्तमञ्जन, लत्ताकपडा, जुसलगायत वस्तुको निर्यात बढेको छ भने तयारी पोशाक, जुटका सामान, रोजिन, अलैँची, पश्मिनालगायत वस्तुको निर्यात घटेको छ । 

गत साउन र भदौमा वस्तु आयात ३८.५ प्रतिशतले बढेर रु दुई खर्ब ३२ अर्ब ३५ करोड पुगेको जनाउँदै नेपाल राष्ट्र बैंकले अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२.६ प्रतिशतले बढेको जनाएको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट ३८.९, चीनबाट १३.२ र अन्य मुलुकबाट भएको आयात ५५.२ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, एम.एस. बिलेट, सवारीसाधन तथा पार्टपुर्जा, अन्य उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, स्वास्थ सम्बन्धी उपकरण तथा औजार, भिडियो टेलिभिजन तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ । 

कूल वस्तु व्यापार घाटा ४१.२ प्रतिशतले विस्तार भई रु दुई खर्ब १७ अर्ब ६५ करोड पुगेको छ भने समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.३ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८.१ प्रतिशत रहेको थियो । विप्रेषण आप्रवाह ३३.४ प्रतिशतले वृद्धि भई रु एक खर्ब ५४ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले बढेको थियो । 

वस्तु आयातमा भएको उच्च वृद्धिका कारण समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भई रु ३५ अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु १९ अर्ब ७४ करोड थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दुई महीना १९ करोड २६ लाख डलर रहेको चालू खाता घाटा समीक्षा अवधिमा ३२ करोड एक लाख डलर पुगेको छ ।

त्यसैगरी शोधनान्तर घाटा रु २५ अर्ब ४५ करोड छ । यस्तो घाटा अघिल्लो वर्षको सोही अवधिमा रु पाँच अर्ब ८७ करोड थियो । अमेरिकी डलरमा शोधनान्तर घाटा अघिल्लो वर्षको दुई महीनामा पाँच करोड ७३ लाख डलर रहेकोमा समीक्षा अवधिमा २३ करोड नौ लाख डलर रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै