• २०८१ बैशाख १४ शुक्रबार

पुष्प व्यवसायीको साझा समस्या : उपयुक्त जमिनको अभाव 

kharibot

फाइल तस्बिर - फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठ

काठमाडौं । सबै व्यवसायीका आफ्नै समस्याहरु हुन्छन् । यतिबेला फूलको मौसम छ । अझ भनौ फूलैफूलको पर्व तिहार हाम्रो घरघरमा आइसकेको छ । तिनै सुन्दर मगमगाउँदा फूलको उत्पादन गर्ने व्यवसायीहरु भने आफूले चाहेजति जमिनमा फूलको खेती गर्न नपाएको गुनासो गरिरहेका छन्  ।

पुष्प व्यवसायमा नै ३४ वर्ष बिताएका बिताएका तीर्थबहादुर महर्जन आफ्नो पुष्प व्यवसायप्रति सन्तुष्ट छन् तर पुष्पखेतीको लागि आवश्यक र खेतीयोग्य जमिनको अभाव रहेको बताउँछन् । उनी भन्छन्, “इच्छा र जाँगर हुँदा पनि पानी, जमिन र कामदारको अभावको कारण पुष्प व्यवसाय गर्न सकिएको छैन ।”

धुम्बाराहीमा विगत ८ वर्षदेखि सञ्चालनमा आएको काठमाडौँ नर्सरीकी सञ्चालिका स्मिता श्रेष्ठको गुनासो पनि उस्तै छ । उनी भन्छिन्, “दक्ष जनशक्ति र पुष्प व्यवसायको लागि उपर्युक्त जमिनको अभाव छ ।”

मौसमी फूलहरु मासिक ५०  हजारसम्म आम्दानी गर्न सकिने बताएकी उनले  सधैँ एकनासको नभएर घटीबेसी आम्दानी हुने गरेको बताइन् । आफ्नो व्यवसायप्रति सन्तुष्ट रहेको बताउने उनी ग्राहकले माग गरेको फूल उत्पादन गर्न सक्दा कुनै घाटा नभएको बताउँछिन्  ।

तर पुष्प व्यवसायमा देखिएका समस्याहरु समाधान गर्न फ्लोरिकल्चरको शिक्षा बृहत् बनाउनुपर्ने उनको भनाइ छ । वर्षमा  २ पटक मात्र हुने पुष्प प्रदर्शनीलाई केन्द्रित गर्दै उनले सधैँ भृकुटीमण्डप र ललितपुरको खेल मैदानमा मात्र नभएर भिन्न ठाउँ र धेरै पटक पुष्प प्रदर्शनी गर्न सके फूलको व्यापार व्यवसाय प्रदर्शन हुने बताइन् । 

घिमिरे नर्सरीमा सञ्चालक दिलिप घिमिरे आफूले व्यावसायिक रुपमा फूलको खेती सुरु गरेको ३ वर्ष मात्र भएको  र आफ्नो भविष्य फूलखेतीमा देखेका उनी मेलाको लागि बजेट अभाव भएको बताउँछन् । 

पुष्प व्यवसायमा धेरै समस्या भएको कारण समस्या पहिचान गर्न नै समस्या भएको उनको भनाइ थियो । समस्याको बाबजुत पनि उनी आफ्नो व्यवसायप्रति सन्तुष्ट भएको बताए  । त्यस्तै शिष्टता नर्सरीकी सञ्चालिका यशोदा संजेलले ललितपुरस्थित थसिखेलमा व्यावसायिक रुपमा पुष्प व्यवसाय गर्न थालेको  ५ वर्ष पूरा भयो । उनी पुष्प व्यवसायको लागि सबैभन्दा पहिला ठाउँको अभाव रहेको बताउँछिन् । भन्छिन्, “पुष्प व्यवसायको लागि प्रमुख समस्या भनेको जमिनको अभाव हो  ।”

अरु व्यापारजस्तो सटरमा गर्न नसकिने भएकाले व्यक्तिको जग्गालाई सम्झौता गराएर काम सुरु गर्दा धेरै महङ्गो हुने र धेरै मिहिनेत गरेको ठाउँमा सम्झौतामा तोकिएअनुसार छोड्नुपर्ने भएकाले झन् समस्या हुने उनको भनाइ छ । 

पुष्प व्यवसायलाई अझ प्रभावकारी बनाउन सरकारी निकायबाट खेर गएका सरकारी जग्गालाई सस्तो सुरुमा उपलब्ध गराएर राम्रा र सुन्दर फूल फूलाउन सहयोग गर्नुपर्ने र यसो गरेमात्र पुष्प व्यवसाय राम्रोसँग फुटाउनसक्ने उनको भनाइ छ । 

यसैबीच फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले थोरैबाट धेरै फूलको खेती गर्न थालिएकाले सहरी क्षेत्रमा बाक्लो बसोबास र  प्रदूषण समेत बढ्दै गएकाले पुष्प व्यवसायमा ठूलो समस्या देखिएको बताएका छन् । भन्छन्, “फूलहरु सहरमा बेच्नुपर्ने अवस्था छ, जनघनत्वको कारणले  जमिन घटिरहेको छ , पानीका  प्राकृतिक सा्रेतहरु सुकिरहेका छन्, जसले गर्दा सहर प्रदूषित हुँदै गएको छ । प्रदूषण बढ्दै जाँदा फूल उत्पादनमा असर परेको छ ।” 

पुष्प व्यवसायलाई अझ व्यवस्थित र निर्यात गर्नको लागि सरकारले लगानी गर्नुपर्नेमा उनको जोड छ । त्यस्तै पूर्वाधारमा पनि लगानी गर्नुपर्ने उनको भनाइ छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै