• २०८१ बैशाख १५ शनिबार

राप्रपा एकता अवरुद्ध : राजसंस्था र चुनाव चिन्हमा विवाद कायमै 

kharibot

काठमाडौं। टुक्रा टुक्रामा विभाजित राप्रपाको एकता प्रक्रिया फेरि असफल भएको छ । सोमबार औपचारिक एकता घोषणा गर्ने गरी कार्यक्रम स्थलसमेत तय भइसकेको अवस्थामा आइतबार राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाबीचको छलफल निष्कर्षमा नपुगे पछि अहिलेलाई एकता अन्योलमा परेको छ। 

थापा र राणाबीचको आइतबार भएको बैठकमा नयाँ विषयले प्रवेश पाएपछि एकता प्रक्रिया अवरुद्ध भएको बताइएको छ। थापा नेतृत्वको राप्रपा, राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच पटक–पटक एकता प्रयासका लागि छलफल चलेको थियो। 

दसैँ अगाडिदेखि तीन पार्टीले चरणवद्ध छलफल गर्दै आएका थिए। त्यही छलफलका आधारमा सोमबार एकता घोषणा कार्यक्रम तय भएको थियो।

आइतबार पार्टी एकता अनुमोदनका लागि थापा नेतृत्वको राप्रपाले पार्टी केन्द्रीय समितिको बैठक बोलाएको थियो। अध्यक्ष थापाले पार्टी बैठकमा एकताको मोडालिटीलगायतका विषयमा बिफ्रिङ गरिहदा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले फोन गरी भेट्ने प्रस्ताव गरेका थिए। दुई नेताबीच महाराजगन्जस्थित एक होटलमा छलफल भएको थियो।  छलफलमा चुनाव चिन्हको नयाँ विषयले विवाद ल्याएपछि राप्रपा एकता तत्काल अवरुद्ध भएको राप्रपाका नेताले बताएका छन्। 

एकताका लागि तीन पार्टीबीचमा संवैधानिक राजसंस्था मानेर जाने सैद्धान्तिक सहमति भएको थियो। त्यस्तै, एकतापछिको केन्द्रीय समितिको संरचनादेखि भागवन्डासम्म टुंगिसकेको थियो। तर आइतबारको थापा–राणा छलफलमा संवैधानिक राजसंस्था र चुनाव चिन्हको विषयमा नयाँ विवाद भएपछि एकता नभएको हो ।

राणाले अहिले संवैधानिक राजसंस्था मान्न नसकिने र चुनाव चिन्हमा गाई पनि नमान्ने भनेपछि एकता प्रक्रिया बिथोलिएको राप्रपाका नेताहरुले बताएका छन्। 

यसैबीच राप्रपा अध्यक्ष कमल थापाले भने एकता महाधिवेशनले पारित गरेको पार्टीको विधान र चुनाव चिन्ह गाई एकताको बटमलाइन रहेको बताएका छन्। थापाले भनेका छन्, ' समान विचारधारा भएका दलहरुसंग एकताको ढोका खुलाराख्दै सनातन हिन्दुराष्ट्र,संबैधानिक राजसंस्था,स्थानिय स्वायत्त शासन र उदार अर्थतन्त्रको जगमा सबल र सम्बृद्ध नेपाल निर्माणको यात्रामा राप्रपा अविचलित अघि बढिरहने छ। एकता महाधिबेशनबाट पारित नीति,बिधान र 'गाई' चुनावचिन्ह हाम्रो बटमलाईन हो।'

दुवै राप्रपा भित्र असन्तुष्टि :

एकीकरणको प्रयासका बीच राप्रपा भित्र भने विवाद बढिरहेको छ।  राप्रपाका उपाध्यक्ष दिलविकास राजभण्डारीका अनुसार दलको साङ्गठनिक गतिविधिप्रति असन्तुष्ट भई उपाध्यक्ष, महामन्त्री, केन्द्रीय सदस्यलगायत १८ नेताले गरेको भेलाले दलभित्र निरङ्कुशता बढ्दै गएको निष्कर्षसहित अध्यक्ष थापाको राजीनामा मागेको गरेको छ । 

पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुटको अन्त्य गर्न नेतृत्व संवेदनशील नभएको अध्यक्ष थापामाथि आरोप लगाएको छ । 

असन्तुष्ट पक्षले पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा(प्र) राजसंस्था वा गणतन्त्रबारे प्रस्ट नभइकन एकताको प्रक्रिया शुरु गरेको भन्दै आइतबारको केन्द्रीय कार्य समितिको बैठक समेत बहिष्कार गरेको छ । असन्तुष्ट नेतामा पार्टीका उपाध्यक्षद्वय बुद्धिमान तामाङ र राजभण्डारी, महामन्त्रीद्वय जयन्त चन्द र धवलशम्शेर राणा तथा केन्द्रीय सदस्यहरु कालीप्रसाद जोशी, हेमबाबु लेखक, सविना शाह, गोविन्द खनिया, जनककुमारी, भीमप्रसाद गौचन, देवीप्रसाद कँडेल, मुकुन्दश्याम गिरी, जयलाल पुन, रामबहादुर शाह, प्रल्हाद शाह, सत्यन्द्र सिंह, रामचन्द चतुरवेदी र लोकेन्द्रबहादुर स्वार रहेका छन् । 

त्यसैगरि राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विष्णु भट्टराईले दुवै पार्टी एकीकरणको औचित्य प्रस्ट नभई गरिने एकताको अर्थ नहुने बताउँदै त्यस विषयमा पार्टी अध्यक्ष राणालाई छिट्टै स्मरणपत्र बुझाइने जानकारी गराए । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै