• २०८१ बैशाख १५ शनिबार

कञ्चनपुरको जैविक मार्ग निर्माणमा तीव्रता

kharibot

कञ्चनपुर । चुरे क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्र जोड्न भीमदत्त नगरपालिकाले जैविक मार्ग निर्माणमा तीव्रता दिएको छ ।

नगरपालिको वडा नं. १ बाराकुण्डादेखि ब्रह्मदेवसम्म निर्माण गरिएको जैविक मार्ग स्तरोन्नति गर्ने कार्यलाई तीव्रता दिइएको हो । सो कार्यका लागि मार्गमा ग्राभेल गर्ने, माटो भर्ने, पाइप कल्भर्ट राख्ने र रोलिङ गर्ने कार्य शुरु गरिएको छ । स्तरोन्नतिका लागि चालू आवमा रु ३० लाख बजेट विनियोजन गरिएको छ ।

गत आर्थिक वर्ष रौटेलादेखि ब्रह्मदेवसम्म १८–२२ मिटर चौडाइको झण्डै १५ किमी मार्गको बाटो खोलिएको छ । चुरे फेदमा निर्माण गरिएको यो मार्गले नगरपालिकाका १, ३, ७, ८, ९ र १० नम्बर वडा तथा उत्तरी क्षेत्रका सबै धार्मिक तथा पर्यटकीय क्षेत्रलाई एकआपसमा जोडेको छ ।

“उत्तरी क्षेत्रका सडक पूर्वाधार विकास, धार्मिक पर्यटन विकास, पर्यावरण संरक्षण र चुरे संरक्षण गर्ने उद्देश्यसहित जैविक मार्ग निर्माण गरिएको छ”, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भने ।

नगर प्रमुख विष्टले जैविक मार्गको पूर्व–पश्चिमी दुवै भाग नगर चक्रपथसित जोडिने जानकारी दिए । यो मार्ग भएर पूर्णागिरिका दर्शनार्थीलाई रौटेला र बाराकुण्डामा ल्याउन खोजिएको छ । त्यसका लागि बाराकुण्डाका कुण्ड पुनःभरण गरिएको छ ।

नगरपालिकाले गत आर्थिक वर्षमा बाराकुण्डका एक दर्जन कुण्ड पुनःभरण गरी पर्यटकीय क्षेत्र बनाएको थियो । जैविक मार्गको प्रस्थान बिन्दु रौटेला र अन्तिम बिन्दु ब्रह्मदेवस्थित काली मन्दिरमा छ । काली मन्दिर भएर महाकाली करिडोरको निर्माण कार्य अघि बढाइएको छ । नगरपालिका वडा नं ७ का अध्यक्ष शङ्कर कुँवरले जैविक मार्गले चुरे क्षेत्रका बासिन्दा उत्साहित भएको बताए ।

जैविक मार्गको किनारमा हरित बगैँचासहितको वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिइएको छ । भीमदत्त नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले हरियालीसहितको जैविक मार्गले भीमदत्त नगरलाई समृद्ध बनाउने आशा लिइएको बताए ।

“जैविक मार्ग हेर्नकै लागि पर्यटक यहाँसम्म पुग्ने गर्दछन् । जसबाट यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्नुका साथै पर्यटक आवागमनले स्थानीय बासिन्दाको आयस्तरमा समेत वृद्धि हुनेछ”, उनले भने ।

सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षमा जैविक मार्गलाई काली, कर्णाली र गोदावरी नामकरण दिएर विस्तृत परियोजना प्रतिवेदन निर्माणका लागि बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि तेस्रो नगरसभाबाट जैविक मार्गका लागि बजेट विनियोजन गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय