• २०८१ बैशाख १४ शुक्रबार

१६औँ हस्तकला  व्यापार मेला काठमाडौंमा सुरु

kharibot

काठमाडौं / नेपाल हस्तकला महासंघको १६ औँ हस्तकला व्यापार मेला र  १४ औँ  हस्तकला प्रतियोगिता काठमाण्डौँको भृकुटीमण्डपमा सुरु भएको छ ।  बुधबारबाट सुरु भएको मेला मंसिर २ गते सम्म चल्नेछ । 

मेला उद्घाटन गदै अर्थ मन्त्रि डाक्टर युवराज खतिवडाले स्थानीय कच्चा पदार्थमा  आधारीत , स्वदेशी शिल्पी तथा सिर्जनामा कुँदिएका हस्तकलाका सामानहरुको  यथोचित प्रवद्र्धन हुन सकेमा  राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक  प्रभाव पर्ने  निश्चित रहेको बताउँदै यसको विकास र प्रवद्र्धन गर्न सरकारले सक्दो सहयोग गर्ने बताएका छन्  ।

कार्यक्रममा प्रमुख अतिथि माननीय अर्थमन्त्रीज्यूबाट बर्षको वस्तुगत उत्कृष्ट निर्यातकर्ताहरु, उद्यमी तथा कलाकारहरुलाई कदर तथा सम्मान प्रदान गरेका थिए । प्रमुखअतिथि माननीय अर्थमन्त्रीले आफ्नो मन्तव्य दिने क्रममा नेपाल हस्तकला महासंघले यस हस्तकला क्षेत्र प्रति गरेको योगदान अन्यन्तै प्रसंसायोग्य रहेको र यस १६औं हस्तकला व्यापार मेलाको अपार सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

उनले यस हस्तकला क्षेत्रको विकासको लागि चाहिने कच्चा पद्धार्थको सहज रुपमा उपलब्ध गराउनको लागि र विभिन्न स्थानिय स्तरमा पनि हस्तकला कलाकारहरुको लागी हस्तकला उद्योग ग्रामको विकास गर्न नेपाल सरकारको तर्फबाट सक्दो सहयोग प्रधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरि यस कार्यक्रममा सहयोगी बैंक नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्तकला उद्यमी तथा कलाकारहरुलाई प्रोत्साहित गर्न र उत्कृष्ट कला शिल्पमा लगानि गर्नको लागि उचित व्याज दरमा कर्जा उपलब्ध गराउन सकिने कुरामा जोड दिए। त्यसैगरि नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले हस्तकलाकर्मीहरुको कला तथा शीप विकासको लागि ठाउँ ठाउँमा तालिम केन्द्रहरु खोलि यस क्षेत्रमा दक्ष जनशक्तिको उत्पादन गर्नु पर्ने देखिएको बताइन् । 

मेलामा १७२ वटा स्टल रहेको छ भने ५ वटा प्याभिलियन समेत रहेको छ । अन्तरराष्ट्रिय मूलूकहरुमध्ये भारत, बांगलादेश, भुटान, चीन तथा पाकिस्तानबाट स्टलसहित सहभागिता रहेको छ । आज मेलाको पहिलो दिनमा स्वदेशी तथा विदेशी मेला अवलोकनकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यस मेलाको एक प्रमुख आकर्षणको रुपमा रहेको अन्तरक्रियात्मक गोष्ठीको समेत यसै दिन आयोजना गरिएको थियो ।

कार्यक्रममा १४ औँ हस्तकला प्रतियोगितामा सहभागीहरु मध्यबाट उत्कृष्टलाई  नगद सहित सम्मान समेत गरिएको थियो ।

मेला संचालनको लागि १ करोड  खर्च लाग्ने र २५ लाख रुपैयाँ सरकारले सहयोग गरेको छ भने १ लाख रुपैयाँ उद्योग वाणिज्य महासंघले गरेको छ ।  मेलामा १० करोडको कारोबार हुने  आयोजकले जानकारी दिएको छ । 

पाटन विश्वको कलात्मक सहर (वर्ल्ड क्राफ्ट सिटी) घोषणा  :

एेतिहासिक सहर ललितपुरको पाटन शहर विश्वको कलात्मक सहर (वर्ल्ड क्राफ्ट सिटी) घोषित भएको छ। वर्ल्ड क्राफ्ट काउन्सिलले पाटनलाई विश्वका कलात्मक सूचिमा राखेको हो। 

वर्ल्ड क्राफ्ट एसिया प्यासिफिकका अध्यक्ष डा. खाडा हिजावीले पाटनलाई वर्ल्ड क्राफ्ट सिटी घोषणा गरेको प्रमाणपत्र ललितपुर महानगरपालिकाका मेयर चिरबाबू महर्जनलाई हस्तान्तरण गरेकी छन् । १६औ हस्तकला व्यापार मेलाको उद्घाटन कार्यक्रममा अध्यक्ष हिजावीले मेयर महर्जनलाई प्रमाणपत्र प्रदान गरेकी हुन् । यो संस्थाले अहिलेसम्म पाटनसहित विश्वका ३५ सहरलाई कलात्मक सहर घोषणा गरेको छ।

वर्ल्ड क्राफ्ट काउन्सिलको एशिया प्यासिफिकका उपाध्यक्ष समेत रहेका नेपाल हस्तकला महासंघका अध्यक्ष धर्म राज शाक्यले वर्ल्ड क्राफ्ट सिटीको घोषणापछि नेपालको हस्तकलाको थप विकासमा मद्धत पुग्ने भन्दै अध्यक्ष शाक्यले हस्तकला क्षेत्रमा काम गर्ने कलाकार र व्यवसायी दुवैलाई यसले फाइदा पुग्ने विस्वास गरेका छन्। 

ललितपुरको पाटनलाई हस्तकला र परम्परागत कलासस्कृतिको उद्गमस्थल भनिदै आएकोमा वर्ल्ड क्राफ्ट सिटीको स्ट्याटस पछि अन्तर्राष्ट्रिय मान्यता पाउने शाक्यले दाबी गरे। यस क्षेत्रमा उत्पादित  सामग्रीले अन्तर्राष्ट्रिय बजारमा राम्रो मुल्य पाउने र कलाकारको पनि अन्तर्राष्ट्रिय बजारमा प्रचलित हुन थप सहयोग पुग्ने शाक्यले खरीबोटलाई बताए । 

वर्ल्ड क्राफ सिटीको मान्यता एसिया प्रशान्त क्षेत्रका २७, दक्षिण अमेरिकाका ६ र युरोपका २ सहर यो सूचिमा छन्।  सन् १९६४  मा स्थापना भएको वर्ल्ड क्राफ्ट काउन्सिल युनेस्कोसँग आवद्ध छ । यो संस्थाले विश्वभर कला तथा स‌ंस्कृतिको क्षेत्रमा काम गर्दै आएको छ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै