• २०८१ बैशाख १५ शनिबार

प्रकाशको स्मृति सभामा भक्कानिए परिवार 

kharibot

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका दिवंगत छोरा प्रकाश दाहालको पहिलो स्मृतिसभा सम्पन्न भएको छ।  

प्रचण्ड निवास खुमलटारमा भएको कार्यक्रममा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, झलनाथ खनाल, बाबुराम भट्टराई, नेपाल सरकार मन्त्रीहरु तथा विभिन्न दलका नेता कार्यकर्ताहरुको उपस्थिति थियो भने कलाकार तथा सर्वसाधारणको समेत बाक्लो उपस्थिति थियो ।

प्रकाशको फोटोमा माल्यार्पण गर्दैगर्दा उनकी आमा सीता, दिदी रेणु र पत्नी विना मगर भक्कानिएका थिए। नेकपाका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरा प्रकाशको स्मृति सभालाई सम्बोधन गर्दै देशवासीको माया र सद्भावले नै आफ्नो परिवार छिन्नभिन्न हुनबाट जोगिएको बताए । उनले शोकलाई नयाँ शक्तिमा बदल्न देशवासीको साथ र सहयोगले मात्रै सम्भव भएको पनि बताए । 

स्मृति सभामा बोल्दै गर्दा पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड छोरालाई सम्झेर भावुक बनेका थिए । उनले भने, ‘प्रकाशको निधनले हाम्रो परिवारलाई ठूलो क्षति त पुग्यो, तर देश अनि पार्टीलाई नै क्षति पुग्यो ।’ 

‘छोरालाई गुमाउनुपर्दाको असम्भव लाग्ने पीडा पनि हामीले सामना गर्यौँ’, उनले भने, ‘तर तपाईँहरुको उपस्थिति, सद्भाव अनि मायाले नै हामीले शोकलाई शक्तिमा बदल्न सक्यौँ ।’

छोरा प्रकाशजस्तै देशका हजारौ र लाखौ प्रकाशहरु प्रति हाम्रो जिम्मेवारी रहेको भन्दै उनले त्यसै अनुरुप देश निर्माणमा आफू निरन्तर लागिरहेको बताए ।  जीवनमा आएको विभिन्न उतारचढावका बीच पछिल्लो समयमा प्रकाश एउटा परिपक्व व्यक्तिका रुपमा रहेको पनि प्रचण्डले बताए ।

प्रकाशको २०७४ साल मंसिर ३ गते हृदयघातबाट निधन भएको थियो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय