• २०८१ बैशाख १५ शनिबार

घुस दिन नसकेको भन्दै वीर अस्पतालका डाक्टरले दिए राजीनामा  

kharibot

काठमाडौं। वीर अस्पतालका वरिष्ठ न्यूरो सर्जरी युनिट प्रमुख डा. ध्रुव अधिकारीले चाकडी गर्न र घुस दिन नसकेको जनाउँदै पदबाट राजीनामा दिएका छन् ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै डा. अधिकारीले मन्त्रालयमा राजीनामा दिएका हुन्।  उनको राजीनामा सोमबार दर्ता भएको छ।  उनी नवौं तहका चिकित्सक हुन्।  उनले विगत एक वर्षदेखि तलबविहिन हुदै वीर अस्पतालमा काम गरेको राजीनामामा उल्लेख गरेका छन्। 

वीर अस्पतालमा पोष्टिङ नगरी पूर्वाग्रहका साथ दुःख दिएको उल्लेख गर्दै राजीनामा पत्रमा उनले चाकडी गर्न र माग अनुसार घुस दिन असक्षम भएको उल्लेख गरेका छन् ।

डा.अधिकारीको राजीनामा पछि स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले डा. अधिकारी पदस्थापन गरिएको भएपनि तोकिएको अस्पतालमा नगएको बताएका छन् ।

प्रवक्ता श्रेष्ठका अनुसार, गत चैत १८ गते नवौं तहमा नियुक्ति भइ पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पदस्थापन गरिएको थियो।  तर, उनी काजमा वीर अस्पतालमा कार्य गरिरहेका थिए ।

‘पदस्थापन भएको कार्यालयमा एक पटक हाजिर भएर आएपछि वीरमा सरुवा गर्न प्रक्रिया पुग्ने मौखिक जानकारी दिएका थियौं।  हाजिर गर्नै जानु भएन।’ श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय