• २०८१ बैशाख १४ शुक्रबार

नेपाल र म्यान्मारबीच व्यापार सम्झौता 

kharibot

काठमाडौँ। नेपाल र मित्र राष्ट्र म्यान्मारबीच पहिलो पटक व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेकी  म्यान्माकी स्टेट काउन्सिलर आङ सान सु कीबीच भएको अलग अलग भेट र द्विपक्षीय वार्तापछि उनीहरुको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मारका तर्फबाट अन्तर्राष्ट्रिय व्यापार सहकार्यमन्त्री यु क्यो टिनले हस्ताक्षर गरेका छन् । 

दुई देशबीच खासगरी खाद्यान्न, पर्यटन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा थप लगानी र व्यापारका लागि सम्झौताले बाटो खोलेको छ । दुई देशका उद्योग वाणिज्य महासङ्घबीच विगतदेखि सम्झौता भई व्यापार आदानप्रदान हुँदै आएको छ । ‘एशिया प्रशान्त शिखर सम्मेलन’मा भाग लिने सिलसिलामा प्रधानमन्त्री ओलीको निमन्त्रणामा काउन्सिलर सु की बिहीबार काठमाडौँ आएकी हुन् । 

वार्तामा सहभागी प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईका अनुसार दुई देशबीच व्यापार र आर्थिक गतिविधि बढाएर हवाई सम्पर्कसमेत स्थापना गर्ने विषयमा छलफल भएको जानकारी दिए । हाल नेपालमा म्यान्मारबाट दाललगायत खाद्यान्न आपूर्ति भएकाले दालको भाउ स्थिर हुन योगदान पुगेको बताइएको छ । 

उनले लुम्बिनीमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण भएपछि दुई देशबीच सीधा हवाई सम्पर्क स्थापना गरिने र नेपालले सन् २०२० का लागि घोषणा गरेको नेपाल पर्यटन वर्षमा म्यान्माबाट पर्यटक वृद्धि गराउन म्यान्माले सहयोग गर्ने समझदारी भएको छ । 

डा भट्टराईले नेपाल सिद्धार्थ गौतमको जन्मस्थल रहेको र म्यान्मा बौद्धमार्गी मुलुक भएकाले पनि दुई देशबीचको भावनात्मकका साथै व्यापारिक सम्बन्ध कायम रहेकाले आगामी दिनमा व्यापार र लगानी वृद्धि हुने बताए । म्यान्मारले गौतम बुद्धजन्मस्थल लुम्बिनीमा चैत्य निर्माण गरेको छ । 

प्रधानमन्त्री ओली र सु कीबीच बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक)लाई थप सक्रिय तुल्याउन दुवै पक्षले काम गर्ने विषयमा पनि छलफल भएको थियो । उनले सन् २०१४ मा बिम्स्टेकको तेस्रो शिखर सम्मेलनका क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले म्यान्मारको औपचारिक भ्रमण गरेका थिए भने त्यहाँका प्रधानमन्त्री उ सेन विङले नेपालका राजा वीरेन्द्रको राज्यारोहणका समयमा सन् १९७५ (विसं २०३१)मा नेपालको भ्रमण गरेका थिए । 

सन् १९८० मा तत्कालीन राजा वीरेन्द्रले म्यान्माको औपचारिक भ्रमण गरेका थिए । दुई मुलुकबीच सन् १९६० मार्च १९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । म्यान्मारले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सदस्यता पाउन सन् २००८ मा प्रस्ताव गरेको थियो । 

वार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, डा भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, म्यान्माका लागि नेपाली राजदूत भीम उदास तथा म्यान्माका मन्त्री टिनलगायतको उपस्थिति थियो । पहिले बर्मा भनिने म्यान्मामा नेपाली मूलका करीब दुई लाख मानिसको बसोबास छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै