• २०८१ बैशाख २६ बुधबार

तगारो (कविता)

kharibot

मालिक,म पशु हैन !
मलाई यसरी नलगाऊ तगारो
मलाई स्वतन्त्रता छ प्यारो ।

तिम्रो त्यो धनको आडम्बर,
तिम्रो त्यो औकात....
जब निदाउनेछ चितामाथी र बन्नेछ सिर्फ खरानी 
तब म जस्ता लाखौँले सेलाउनेछन् तिम्रो अस्तु
र भन्नेछन् यो दुनियाँलाई 'तिमी पापी हौ' भनेर !

आऊ,
रिस र क्रोधको दाम्लाहरुले
बाँध,घटेसी लागुन्जेल यो घाँटी !
कस, निसासिउन्जेल मुखमा पट्टि !
बोलाऊ, निरङ्कुश प्रहरी प्रशासन !
हतकडी लगाएर लैजाऊ,चिसो कालकोठरिमा
झ्यालखानाको एक अपरिचित कुनामा उभ्याएर मलाई
बर्षाऊ, कोर्राका डामहरु 
र रगतै रगत वान्ता गराऊ !

मालिक,
पैसा र सम्पत्तिको चेस्मा भिरेर 
तिमी किन गरिरहेछौ महलको घमण्ड ?
बिर्सियौ कि  क्या हो मालिक ?
तिम्रो यो आलिसान महल बनाउन
जुठे दमाइले कति लिटर पसिना बगायो होला ?
भरिया दाइले कति मिलि लिटर रगत बगायो होला ?
र आफुलाई नियालेर हेर त
यो रिठ्ठे सार्किले सिलाएको जुत्ता....
आहा ! कति स्वभनिय देखाउँछ तिमीलाई
तर मैले तिम्रो आँगन मात्र टेक्दा पनि 
कसरी अपवित्र हुन्छ तिम्रो त्यो आडम्बरी महल ?
र तिम्रो जस्तै आस्था र पवित्रता भएको
मेरो यो मन्दिर कसरी झुपडिमा रुपान्तरित हुन्छ ?
जवाफ देऊ मालिक,
अब तिम्ले लगाएको
तिमी र मबिचको यो तगारोको आयु कति होला ?

अठारौँ शताब्दीको मान्छे हैन म
कसैको दासी हुनलाई..!
सत्रौँ शताब्दीको ऋणी हैन म
कसैको बन्दी हुनलाई ...!
म त विज्ञानको कोखबाट जन्मिएको
एउटा नामुद एटम हुँ मालिक !
कुन शास्त्रमा लेखिएको छ मैले तिम्रो जदौ गर्नलाई ?
कुन इतिहासले भन्न सक्छ,
तिमीले मात्र संसार जितेको कुरा ?

मालिक,
हाम्रो पाठेघरमा पनि हुर्किँदैछन् नौला सपनाका भ्रुणहरु
कमैयाका मस्तिष्कमा पनि 
जरुर उम्रीएका छन् संसार बदल्ने सुत्रहरु 
हलियाको झुपडिमा पनि लुकेको छ भिमसेनको तागत
हाम्रो चिसो चुल्होमा पनि लप्काइरहेका छन्
साहस र त्यागका ज्वालाहरु ! 
दिनदिनै एटम फलाइरहेछन् 
हाम्रा उत्तर आधुनिक मस्तिष्कहरु !
त्यसैले मालिक, सतर्क !
यदि तिमीले लगाएको यो तगारो
हाम्रै हातले फोडियो भने
निर्मम हत्या हुनेछ तिमीजस्ता कयौँ मस्तिष्कहरुको !
ध्वस्त हुनेछ तिम्रो विभेदको पर्खाल !
काटिनेछन् तिम्रा अहम्कारी सपनाका जराहरु !
साँच्चै मालिक !
तिम्रो बाँच्ने सपना पनि अन्त्य हुन बेर छैन !!

बि.एन ढकाल
अरुण गा.पा.५ भोजपुर
हाल: काठमाण्डौँ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै