• २०८१ बैशाख १४ शुक्रबार

केरुङ–काठमाडौँ रेलमार्ग रहने स्थानको निरीक्षण

kharibot

काठमाडौँ।  रेल विभागका अधिकारी र नेपाल भ्रमणमा रहेको चीनको नेशनल रेल्वे अथोरिटीका अधिकारी टोलीले केरुङ काठमाडौँ रेलमार्गको स्थलगत निरीक्षण गरेको छ । 

टोलीले रसुवागढी, रसुवा, नुवाकोटका केही स्थानको भौगोलिक अवस्थाका बारेमा स्थलगत जानकारी लिएको हो । स्थलगत निरीक्षणमा रहेका विभागका प्रवक्ता अमन चित्रकारले रेलमार्ग रहने स्थानको नेपाली र चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरेको बताए । 

उक्त टोलीमा विभागका महानिर्देशक कलराम मिश्रलगायतका अधिकारी र चिनियाँ टोलीमा चिनियाँ नेशनल रेल्वे अथोरिटीका उपप्रशासक आन लुसङलगायतको सहभागिता थियो । संयुक्त टोलीले काठमाडौँबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखाङ्कनको अवस्थालगायत विषयमा जानकारी लिएको छ । 

यस्तै चिनियाँ प्रतिनिधिमण्डलले आजै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग शिष्टाचार भेटवार्ता गरी रेलमार्ग निर्माणको विषयमा जानकारी गराएको थियो । नेपाली र चिनियाँ टोलीले बुधबार काठमाडौँ–पोखरा रेलमार्ग रहने स्थानको समेत स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ । 

केरुङ–काठमाडौँ रेलमार्गको दूरी करीब ८० किलोमिटर हुने देखिएको छ । सो रेलमार्गको निर्माण अवधि आठ वर्षको हुने र करीब रु तीन खर्बभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ । काठमाडौँ–पोखरा रेलमार्गको विषयमा यसअघि नै चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययन गरिसकेको छ । सो रेलमार्गको लम्बाइ १७१ किलोमिटर हुने बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै