• २०८१ बैशाख १५ शनिबार

इपिएल रिभ्यु : प्लेअफका लागि कुन टिमको अवस्था कस्तो छ ? नेपाली खेलाडीको प्रदर्शन निराशाजनक 

kharibot

काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा हुने कुल १९ खेल मध्ये ९ खेल सकिएका छन्। ९ खेल सकिदा इपिएलमा विदेशी खेलाडीको दबदबा देखिएको छ भने नेपाली खेलाडीहरुको समग्र प्रदर्शन निराशाजनक देखिएको छ। विदेशी खेलाडीले लगातार बलिङ्ग र ब्याटिंगमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने नेपाली खेलाडीको प्रदर्शन अहिलेसम्म औसत नै देखिएको छ। इपिएलमा आज कुनै खेल हुने छैनन् भने भोलि देखि समुह चरणका खेलहरु सुरु हुने छन्।   

प्रतियोगितामा ललितपुर प्याट्रियटस र भैरहवा गलाडियटर्स प्लेअफमा प्रवेश गरिसकेका छन् । प्रतियोगितामा भैरहवाले ३ खेलमा तिनै खेलमा जित हासिल गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ भने ललितपुरले ४ खेलमा ३ खेलमा जित हासिल गर्दै प्लेअफमा पुगेको हो। लिग चरणमा ५-५ खेल हुने प्रतियोगितामा भैरहवा अब २ खेल खेल्न बाँकि छ भने ललितपुर एक खेल खेल्न बाँकि रहेको छ। 

प्रतियोगितामा चितवन टाइगर र पोखरा राइनोजले आफ्ना ३-३ खेलमा पराजित हुदै पहिल जितको खोजीमा रहेका छन्। चितवन र पोखराको प्लेअफको यात्रा संकटमा परेको छ। उनीहरुले अब बाँकी दुवै खेल जितेर पनि प्लेअफमा पुग्न मुश्किल देखिन्छ। अब चितवन र पोखराबीच एक खेल हुने हुनाले दुई मध्ये एक टिम बाहिरिने निश्चित रहेको छ। ३ खेल खेलेको विराटनगर वारियर्सले २ जितसहित ४ अंक बटुलेको छ भने काठमाडौँ किंग्स २ खेल खेल्दै एक जितसहित २ अंक हासिल गरेको छ।  

प्रतियोगितामा विदेशी खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रहेको छ। अहिलेसम्म ललितपुरका गौरव तोमारले सर्वाधिक १९६ रन बनाएका छन्। गौरवले ४ खेलमा १९६ रन बनाएका हुन्। गौरवले काठमाडौँ किंग्सविरुद्ध ८० रन बनाएका थिए भने पोखरा राइनोजविरुद्ध ८२ रन बनाएका थिए।

त्यस्तै टिमले जित हासिल गर्न नसके पनि पोखराका रिचार्ड लेभीले १६६ रन बनाएका छन्। लेभीले ३ खेलमा १६६ रन बनाएका हुन्। उनले ललितपुरविरुद्ध ८४ रन र भैरहवाविरुद्ध ७९ रन बनाएका थिए तर दुवै खेलमा पोखरा पराजित भएको थियो।

भैरहवा ग्लाडियटर्सका भारतीय खेलाडी रवि इन्दर सिंहले ३ खेलमा १६२ रन बनाएका छन्। सिंहले प्रतियोगितामा अहिलेसम्मको एक मात्र शतक बनाएका छन्। सिंहले पोखराविरुद्ध अविजित १२५ रन बनाएर २१६ रन चेज गरेका थिए। 

धेरै रन बनाउने सुचीमा नेपाली खेलाडीको तर्फबाट चितवन टाइगर्सका दिपेन्द्र सिंह ऐरी रहेका छन्। दिपेन्द्रले ३ खेलमा ८९ रन बनाएका छन्। त्यस्तै पछि करन केसीले ६९ रन बनाएका छन्। 

बलिङ्ग तर्फपनि विदेशी खेलाडी अगाडी रहेका छन्। विराटनगर वारियर्सबाट खेल्ने दक्षिण अफ्रिकाका भान डेर मार्वे र ललितपुर प्याट्रीयसका पवन सराफले प्रतियोगितामा अहिलेसम्म सर्वाधिक ६-६  विकेट लिएका छन्। त्यस्तै २ खेलमात्र खेलेर अस्ट्रेलिया गएका सन्दीप लामिछानेले ५ विकेट लिएका छन्। सन्दीपसँगै पोखरा राइनोजका सुशान भारीले पनि ५ विकेट लिएका छन्। 

कुल ६ टिमले सहभागिता जनाएको यस प्रतियोगितामा ५-५ लिग खेल खेलेपछि शिर्ष ४ टिम प्लेअफमा पुग्ने छन्। त्यसपछि पहिलो र दोस्रो हुने टिमबीच पहिलो क्वालिफायर खेल हुने छ। जसको विजेता सिधै फाइनलमा पुग्ने छ भने अंक तालिकामा तेस्रो र चौथो हुने टिम इलिमिनेटर खेल्ने छन्। दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता टिम र पहिलो क्वालिफायरमा पराजित भएको टिम खेल्ने छन् जसको विजेता टिम फाइनलमा पुग्ने दोस्रो टिम हुने छ। 
 
प्रतियोगितामा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ। इपिएलका आयोजक आमिर अख्तरले उद्घाटन खेलमा १५ हजार दर्शकले मैदानमा आएर खेल हेरेको बताए भने अन्य दिनमा पनि न्युनतम ५ हजार दर्शकले खेल हेरेको बताएका छन्। खेललाई रोमान्चक बनाउन र उपस्थित दर्शकलाई थप मनोरंजन दिन चियर्स लिडरको व्यवस्था यस पटक देखि गरिएको छ भने मैदान बाहिर फुड स्टलको व्यवस्था समेत गरिएको छ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै