• २०८१ बैशाख १४ शुक्रबार

सैन्य तालीम पूरा, सिपाही बने ५०९ जना सैन्य

kharibot

नुवाकोट । सैन्य तालीम केन्द्र मैथली ब्यारेक नुवाकोटको ६९औँ समूहको सैन्य तालीममा सहभागी ‘सैन्य आधार तालीमको अन्तिम दलेल कवाज’ पूरा भएसँगै ५०९ जना सैन्य सोमबारदेखि सिपाही भएका छन् ।

सैन्यबाट सिपाही भएकालाई सैनिक तालीम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक (उपरथी) गौरव तण्डुलले अन्तिम दलेल कवाज निरीक्षण गर्दै जनता, सैनिक सङ्गठन र राष्ट्रको रक्षाका लागि जिम्मेवारी बहन गर्न निर्देशन दिए ।

उनले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, जनताको सुरक्षाका लागि नेपाली सेनाको गौरवमय इतिहास रहेकाले त्यसलाई संरक्षण गर्न दिएको जिम्मेवारी सेनाको मूल्य र मान्यताभित्र रहेर इमान्दारपूर्वक बहन गर्न स्मरण गराए ।

“राष्ट्रको मेरुदण्ड नेपाली सेनाले दिएको जिम्मेवारीलाई बफादार एवं अनुशासित ढङ्गबाट पालना गर्न सक्नुपर्छ”, उनले भने, “इमानदार र कर्तव्यनिष्ठ भएर सेवा पुर्याउनुहोस्, तपार्इंहरूको भविष्यको ढोका अब खुल्न शुरु भएको छ ।”

उनले दीक्षित सैनिकलाई सेनाको मुख्य दायित्वको अतिरिक्त विपत् व्यवस्थापन, विकास निर्माणमा सहयोग, वन सम्पदा तथा पर्यावरण संरक्षण, महत्वपूर्ण संरचनाको सुरक्षा, स्थानीय प्रशासनलाई सहयोगसहित विश्वमा शान्ति स्थापनार्थ पुर्याउँदै आएको सेवामा विश्वसनीय संस्थाको रूपमा बनाएको छवि कायम राख्न पनि आग्रह गरे ।

तालीममा १०० महिलासहित ५०९ सैन्य सकल दर्जाका सिपाहीको रूपमा सफल भएको सैन्य तालीम केन्द्र मैथलीका महासेनानी रवीन्द्र केसीले जानकारी दिए । करीब दश महीनासम्म सञ्चालन भएको सैन्य आधार तालीममा उत्कृष्ट महिलातर्फ सिपाही सावित्री कठायत र पुरुषतर्फ सिपाही पुष्पराज बस्नेतलाई उपरथी तण्डुलले नेपालको गौरव ‘गोर्खाली खुकुरी’ र प्रशंसापत्रले सम्मान गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै