• २०८१ बैशाख १५ शनिबार

पार्टीलाई सुधार्न महासमिति बैठकको महत्वपूर्ण योगदान : नेता पौडेल

kharibot

तनहु । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रका कमजोरी सुधार्नका लागि महासमिति बैठकले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।

गृहजिल्ला तनहुँको दमौलीमा आज सञ्चारकर्मीसँग वरिष्ठ नेता पौडेलले महासमिति बैठकले पार्टीभित्रको कमजोरीलाई चिरफार गरी एकताको बाटोमा हिँडाउन सहयोग पुर्याएको बताएका हुन् ।

महासमिति बैठकबाट पारित विधान विश्वकै राजनीतिक दलको विधानभन्दा उत्कृष्ट बनेको दावी गर्दै पौडेलले काङ्ग्रेसको संरचना नमूना बनेको बताए । राजनीतिक पार्टीमा तलदेखि माथिसम्म समावेशी बनाएर लैजान बनेको विधान काङ्ग्रेस पार्टीभित्रको आत्मविश्वासको प्रतीक भएको नेता पौडेलले बताए ।

उनले भने, “नेपाली काङ्ग्रेसभित्र अब कुनै नेताको मनोमानी चल्न सक्दैन, विधानले पार्टीभित्र पूर्ण लोकतान्त्रिकको बाटोमा लैजान सहयोग पुर्याउनेछ र समग्र पार्टीकै लोकतान्त्रिकरणमा टेवा दिनेछ ।”

लोकतन्त्रको लागि लडेको नेपाली काङ्ग्रेस अब आफू पनि लोकतान्त्रिक संस्कारमा अघि बढ्दै देशलाई लोकतान्त्रिक बाटोमा हिँडाउन लागिपर्ने नेता पौडेलले बताए । विगतमा पार्टी कृपावाद र नातावादमा चल्ने गरेको आरोप लगाउँदै उहाँलले अब पार्टीभित्र क्षमता र योगदान भएका व्यक्तिले पार्टी सञ्चालन गर्ने बताए । “निगाह र कृपाको आधारमा अगाडि बढ्ने प्रवृत्ति अब अन्त्य भएको छ”, उनले भने ।

वरिष्ठ नेता पौडेलले महासमिति बैठकले पास गरेको विधानले सबै वर्गलाई समेटेको उल्लेख गर्दै भने, “यो महासमिति बैठक गौरवपूर्ण उपलब्धिका साथ आज दिउँसो सम्पन्न हुँदैछ ।”

वरिष्ठ नेता पौडेलले पार्टीलाई धर्मको विवादमा फसाउन नहुने भन्दै राजनीतिलाई धर्मसँग जोड्न नहुने टिप्पणी गरे । नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक भएकाले सबै धर्मलाई समान व्यवहार हुनुपर्ने उनको भनाइ थियो । उनले भने, “नेपाली काङ्ग्रेस सबै जनताको प्रतिनिधि हो, एउटा पक्षलाई मात्रै समातेर पार्टी चल्न सक्दैन । नेपाली काङ्ग्रेस धर्मको विवादमा धेरै फस्नु हुँदैन ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै