• २०८१ बैशाख १४ शुक्रबार

संस्कृतिको संरक्षणबाट सभ्य समाज निर्माण : मुख्यमन्त्री गुरुङ

kharibot

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृतिको संरक्षण संवद्र्धनबाट मात्रै सभ्य समाजको निर्माण गर्न सकिने बताए ।

माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) पर्वको अवसरमा पोखरा–१७ ढुङ्गेसाँघु मेलास्थलमा सदा शिवजी हरिहर मन्दिर सिद्धगुफा वेदविद्याश्रम गुठी व्यवस्थापन समितिद्वारा आज आयोजित भजन प्रतियोगिता, सम्मान तथा वेदपाठ कार्यक्रममा उनले चार्डपर्व, जात्रा, मठमन्दिरसँग जोडिएका सभ्यतालाई समृद्धिसँग जोडनुपर्ने बताए ।

गण्डकी प्रदेश धार्मिक एवं सांस्कृतिक पर्यटनको उर्भरभूमि रहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले गजेन्द्र मोक्षदेखि मुक्तिनाथधामसम्म जोडिएको कालीगण्डकी सहितका सभ्यता यहाँको आकर्षण भएको बताए ।

विविधतायुक्त संस्कृतिको जगेर्ना र प्रचारप्रसार गर्न सके यसलाई आर्थिक समृद्धिसँग जोड्न सकिने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले वर्षौँदेखिको ढुङगेसाँघु मेला विशिष्ट महत्वको भएको बताए ।

सांस्कृतिक महत्वका विभिन्न स्थलहरू अतिक्रमणको चपेटामा परेको भन्दै उनले धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । सरकारले माघे सङ्क्रान्तिको महत्वलाई दृष्टिगत गरी प्रदेशमा विदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री गुरुङले उक्त अवसरमा ढुङ्गेसाँघु परिसरस्थित प्राचीन सदा शिवजी हरिहर महादेव मन्दिरमा पूजाअर्चना गर्नुका साथै स्थानीय ढुङ्गेसाँघु सीतापाइला आमा समूहद्वारा माघे सङ्क्रान्तिमा तीर्थालु भक्तजनलाई लक्षित गरी खुदो, चिउरा, तरुल, कन्दमूल आदिको वितरण कार्यको शुभारम्भ गरे ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीपक आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा–१७ का वडाध्यक्ष तीर्थ अधिकारी, नेकपाका सुभाष ढुङ्गाना, नेपाली काङ्ग्रेसका देवी आचार्य, भारतको वनारसबाट आउनुभएको रङ्गीता शास्त्री, लेखनाथ आचार्यलगायतले ऐतिहासिक ढुङ्गेसाँघु मेलाको महत्वलाई जीवन्त राख्न सामूहिक प्रयास आवश्यक हुनेमा जोड दिए ।

माघे सङ्क्रान्ति पर्वका अवसरमा आज बिहानैदेखि सेती नदी किनार र जलाशयमा माघे स्नान गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै