• २०८१ बैशाख १५ शनिबार

पुनःनिर्माणको काम दुई वर्षमा सकिन्छ : प्रधानमन्त्री ओली 

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र भूकम्पबाट क्षति भएको पुनःनिर्माणको काम सक्ने बताएका छन् । 

एक्काइसौँ भूकम्प दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उहाँ पुनःनिर्माणको केही ठाउँमा मात्र बाँकी रहेकाले अबको दुई वर्षमा सबै काम सिध्याइने बताउँदै सरकारले भूकम्पबाट क्षति भएका घर, आवास निर्माणलाई पहिलो प्राथमिकता राखेर काम गरिरहेको र भूकम्पीय जोखिममा परेका बस्तीलाई अनुकूल ठाउँमा सारिने बताए । 

“एकीकृत सुरक्षित सुविधासम्पन्न अस्पताल, पानी बिजुली सबै कुराम हामीले ध्यान दिएर आवास बनाउनेछौँ”, उनले भने, “भूकम्प गए पनि जनतालाई सुरक्षित आवास चाँडै प्रदान गर्नेछौँ ।” उनले अब भूकम्प गए पनि केही क्षति नहुने गरी सजगता अपनाइएको बताए । “भूकम्प दिवसले हामीलाई जोखिम न्यूनीकरण सिकाउने अवसर प्रदान गरेको छ”, उनले भने, “भूकम्पबाट हुने क्षति अत्यन्त न्यून गर्नेतर्फ सरकार लागेको छ ।” 

उहाँले पुरातत्वको संरचनाको निर्माण ८० प्रतिशतसमेत भइसकेको जानकारी दिँदै भूकम्पबाट क्षति भएका मठ, मन्दिर र कलालाई जस्ताको त्यस्तै बनाउनुपर्ने बताए । 

“हामीले विसं १९९० को भूकम्पअघिको सांस्कृतिक पुरातत्वको मौलिक स्वरुप बनाउनुपर्छ”, उनले भने, “पुरात्वातिक मठ, मन्दिर हाम्रो इतिहासको गौरवसमेत भएकाले ती पुरातत्वको ठेक्काबाट नभई आफैँ मौलिक संरचनामा बनाउनुपर्दछ ।” प्रधानमन्त्री ओलीले स्थानीय तहको सहयोगमा पुराना सीप, कला जानेको कर्मीबाट ती पुरातत्वको मौलिक संरचना बनाउनुपर्ने बताए ।     

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले भूकम्पबाट जोगाउनका लागि सरकारले जोखिम न्यूनीकरण कार्यक्रम ल्याएको बताउँदै बाँकी रहेको पुनःनिर्माणको काम सङ्घ, प्रदेश र स्थानीय तह मिलेर गरिने स्पष्ट गरे । 

कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले विपत् न्यूनीकरण गर्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले अहिले पनि धेरै स्थानीय तहले भवन आचारसंहिता पालना नगरेको हुनाले पालना गराउनुपर्नेमा जोड दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै