• २०८१ बैशाख १५ शनिबार

डा.गोविन्द केसीको अवस्था नाजुक, के होला अनसन ?

kharibot

काठमाडौँ । डा. गोविन्द केसीको अनसनको आज २४औ दिन भएको छ । अहिलेसम्म सरकारी पक्षबाट बार्ता र अनसन तोडाउने विषयमा कुनै पहल भएको देखिदैन । संसदका दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पारित भएपछि अब विधेयकमा डा.केसीका माग सम्बोधन हुने सम्भावना पनि सकिएको छ । अनसनका कारण डा.केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

डा. केसीको अनसनमा एक्येबद्धता जनाउदै पुर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा. केसीलाई भेट गरेका छन् । काँग्रेस सभापति देउवाले डा केसीलाई भेटेर अनसन तोड्न आग्रह गरेका छन् ।

सभापति देउवाले सरकार असहिष्ण भएको भन्दै अनशन तोडेर नयाँ तरिकाले लड़ौला भनेका थिए । देउवाले भने, 'दुवै संसद अवरुद्ध गरेर हामीले चिकित्सा शिक्षा विधेयक रोक्न खोजेका थियौं तर हाम्रो बल पुगेन । हामी सँधै तपाईको साथमा छौं।' 

प्रतिनिधि सभाबाट गत माघ ११ गते पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाले बिहीबार काँग्रेसका विरोधका बीच नै पारित गरेको छ । अब राष्ट्रपतिले प्रमाणीकरण गर्नासाथ यो कानुनका रूपमा कार्यानवयनमा आउने प्रावधान रहेको छ । 

सरकारले डा.केसीका ९५ प्रतिशत पूरा गरेको दाबि गरिरहेको छ भने डा. केसीले भने त्यसलाई अस्विकार गर्दै आफुसँग विगतमा भएका सम्झौता हुबहु विधेयकमा आउनुपर्ने माग राखेका छन् ।

डा.केसीको अनसन प्रति सरकारको धारणा :

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले डा केसीले उठाएका माग पूरा भइसकेकाले अब संसदीय व्यवस्थाप्रति परिचित प्रतिपक्षी दलले यो विषयलाई बारम्बार कोट्याइरहन उपयुक्त नहुने बताए । 

मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न विहिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले माग सम्बोधन भइसकेको अवस्थामा अनशनरत डा गोविन्द केसीको विषयलाई लिएर प्रतिपक्षी दलले संसद् अवरुद्ध गर्नु संसदीय मर्यादा विपरीत भएको उल्लेख गरे ।

“प्रतिपक्षीले अब बारम्बार यो विषयलाई पिलो कोट्याएजस्तो नगरौँ, उहाँको विषय सकियो । हामी अनुरोध गछौँ ‘डा साबले अब माग पूरा भएको खुशियालीमा अनशन छोड्नुस्’ उक्साउनेको भ्रमबाट मुक्त हुनुपर्छ ।” आफ्नो स्वास्थ्यको ख्याल गर्दै सरकारले अघि बढाएको प्रक्रियाको कार्यान्वयनका लागि अगुवाइ गरेर जनताको सेवामा सिटामोल र मलमपट्टी बोकेर जानु महानता हुन्छ ।” 

उनले भने, “केही मान्छेको हठले संसदीय प्रक्रियालाई बन्धक बनाउने कुरा उपयुक्त हुँदैन । माग पूरा भइसक्यो । फर्केर नहेर्ने तर आरोपित गरिरहने कुरा संसदीय मर्यादाको विपरीत हो”, सञ्चारमन्त्री बाँस्कोटाले भने । 

संसद अवरुद्ध गरेको प्रसङ्गमा सञ्चारमन्त्री बाँस्कोटाले डा केसीसँग १६औँ पटकको अनशन बस्दा उहाँसित वार्ताको पहल प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक कस्ले गरेको थियो भनी प्रतिप्रश्न गरे । 

मन्त्री बास्कोटाले भने,‘ज–जस्ले उहाँ (डा केसी) लाई धेरै बोक्नुभएको छ, बस्ने ठाउँ नभईकन अन्धाधुन्द जहाज उडाउनुभएको छ, उहाँहरुले नै त्यसको अवतरण गराउनुपर्दछ । ’ 
सञ्चारमन्त्री बाँस्कोटाले भने, “सोही विषयमा सरकारलाई बारम्बार अधिनायकवादी र दुई तिहाइको दम्भ भन्ने कुरा पनि उचित हैन । त्यो कुण्ठा हुनसक्छ । तर्क हुन सक्दैन, सत्ता गुमाएकामा पीडा हुनसक्छ । यसको मलमपट्टी अहिलेको सरकारले लगाउन सक्दैन । बेला र प्रक्रिया आएपछि जनताले लगाउनेछन् ।” 

सरकारले डा केसीको अनशनलाई बेमतलब गरेको हो भन्ने पत्रकारको जिज्ञासामा सञ्चारमन्त्री बाँस्कोटाले भने, “अनशनको बेमतलब गरेको भए संसद्मा चिकित्सा विधेयक कसरी पेश हुन्थ्यो ? मागको सम्मान गरेर अहिलेको सबै प्रक्रिया अघि बढाई व्यवस्थित र वैज्ञानिक तवरले सुनिश्चित गरियो । अनशनको बढी प्रचार गरियो ।” 

सरकारले डा केसीले उठाएको विषयलाई अझ एक कदम अघि बढेर माग सम्बोधन गरिसकेको छ । “ संसद्का दुवै सदनले त्यसलाई पारित गरिसकेका छन् । यो अनशनको बेमतलब हो कि अनशनको औचित्य समाप्त भएको हो । यसतर्फ यहाँहरुले सोचिदिनुपर्छ”, सञ्चारमन्त्री बाँस्कोटाले भने ।

अन्त्यमा, 

सरकारले जस्तो दाबि गरेपनि चिकित्सा शिक्षाको सुधारमा डा.केसीको आन्दोलनको ठुलो भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन । १६औ पटक अनसन बसिरहेका डा. केसीलाई सरकारले यथाशिघ्र वार्ताको माध्यमबाट टुंगाउनु नै उपयुक्त हुन्छ । यसमा काँग्रेस सभापति देउबाले अनसन तोड्न गरेको आग्रह राम्रै छ । अब सरकारी पक्षबाट पनि आधिकारिक रुपमा यस्तो आग्रह गरेर उनको जीवन रक्षा गर्नु नै बुद्धिमानी पूर्ण कदम हुन्छ । डा.केसीका माग पुरा भएका छन् भनिरहेको सरकारले उनलाई भेटेर यसबारेमा बुझाउन आनाकानी किन गरिरहेको छ त ? त्यसैले सरकारले यथाशिघ्र यस समस्याको समाधान खोज्नु पर्ने देखिन्छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै