• २०८१ बैशाख १५ शनिबार

प्रचण्डको असन्तुष्टि- ‘संविधान कार्यान्वयन नगरे अर्को माओवादी जन्मिन्छ’

kharibot

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया र संविधान कार्यान्वयन नगरे मुलुक ठूलो दुर्घटनामा जाने बताएका छन् । 

वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानद्वारा लिखित ‘न्यायिक समितिः कार्यविधि र प्रक्रिया’ पुस्तकको शुक्रबार लोकार्पण गर्दै उनले शान्ति सम्झौता र संविधान इमान्दारिताका साथ कार्यान्वयन गर्नु सबैको कर्तव्य भएको बताए । 

“यदि शान्ति सम्झौता र संविधान कार्यान्वयनलाई हल्कारुपमा लिइएको छ भने अब चाँहि देशलाई फेरि गाह्रो पर्न सक्दछ”, उनले भने, “यदि हामीले शान्ति सम्झौतामा जे प्रतिज्ञा गर्यौं । संविधान सभाबाट जे जति अधिकार प्रत्योजित गर्यौं, त्यसलाई इमान्दारिताका साथ लागू गरिएन भने फेरि एकचोटी हामीले नचाहँदा नचाहँदै द्वन्द्वको स्थित आउन सक्छ ।” अब हुने द्वन्द्व भयानक हुने भन्दै त्यसलाई मुलुकले धान्न नसक्ने उनले बताए । 

शान्ति सम्झौताका अन्तरनिहित भएर अगाडि बढेका छौँ त भन्ने प्रश्न उठेको बताउँदै उनले भने, “हामीले बनाएका नियम कानून शान्ति प्रक्रियाअनुसार परिलक्षित छन् त भन्नेमा आशांका गर्न थालिएको छ ।” 

उनले जनताको घरदैलोमै सरकार पुर्याउने गरी संविधान बनाए पनि त्यो कार्यान्वयन नभएको अनुभूति हुन थालेको धारणा राखे । “स्थानीय र प्रादेशिक तह संविधानअनुसार जुन मर्मका साथ कार्यान्वयन हुनुपर्ने हो, त्यो भएको छ या विस्तारै कमजोर त पारिँदै छैन ?” उहाँले आशांका गरे । प्रदेशमा चाहिने कानून, सुरक्षा र आर्थिक व्यवस्थापनलाई संविधानअनुसार अगाडि बढाउँदै छौँ त भन्ने प्रश्न गर्दै अध्यक्ष प्रचण्डले भने, “स्थानीय तहमा जेजस्ता अधिकारको कुरा संविधानले गरेको छ, त्यहीअनुसार सिंहदरबारबाट प्रत्योजित गर्ने हो ।” 

पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालको लोकतान्त्रिक संविधान प्रणाली कमै देख्न पाइने भन्दै संविधानमा सबै उपेक्षित वर्ग समुदायलाई अधिकार सम्पन्न तुल्याउने जे भनिएको हो त्यही दिशातिर बढाउँदै छौँ त भनेर प्रश्न उठ्न थालेको बताए । “म सुन्दैछु कि पुलिसमा भएका मुद्दा फटाफट अगाडि बढाएर पक्रन थाल्यो । २० वर्षपछि पनि फेरि उही”, उनले भने, “शान्ति सम्झौताको भावना र मर्म एकातिर छ, काम अर्कोतिर ।” 

अध्यक्ष प्रचण्डले पुरानै संस्कृति, संरचना, कार्यशैली र भ्रष्टाचारजस्ता रोगलाई संविधानमार्फत निदान गर्ने भनिए पनि त्यसो नभएको बताए । उनले मधेश र पहाडमा विकाराल स्थिति आउन सक्ने भन्दै त्यसलाई हिजोको जस्तै युगान्तकारी परिवर्तनको भावनाअनुसार काम गर्नुपर्ने बताए । 

“विस्तारै विस्तारै माओवादीलाई सिध्याइहाल्यो भनेर कसैले ठानेको छ भने त्यो दुर्भाग्य हुन्छ, अर्को माओवादी जन्मिन्छ । झन ठूलो लडाइँ हुन्छ”, उनले भने, “त्यसैले शान्ति सम्झौता र संविधान कार्यान्वयनमा एकजुट भएर मुलुक बनाउने ऐतिहासिक अवसरमा लाग्नुपर्छ ।” 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै