• २०८१ बैशाख १४ शुक्रबार

फोहर व्यवस्थापन स्थलका लागि बोलपत्र आह्वान गरिँदै

kharibot

काठमाडौँ । शहरी विकास मन्त्रालयले यही फागुन अन्तिम सातासम्ममा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । 

अहिले निर्माणका लागि डिजाइन र माटो परीक्षणको काम भइरहेको छ । आगामी दुई हप्तामा उक्त काम सम्पन्न गरी निर्माणका लागि बोलपत्र आह्वान गरिने मन्त्रालयका सूचना अधिकारी गणेश कर्माचार्यले जानकारी दिए । 

हाल फोहर व्यवस्थापन गरिरहेको स्थान सिसडोलबाट दुई किलोमिटर टाढा दीर्घकालीन रुपमा फोहर विसर्जन स्थल निर्माण गर्न लागिएको हो । निर्माणका लागि मन्त्रालयले रु ३८ करोड बजेट छुट्याएको छ । मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले सो निर्णय गरेको हो । करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जन स्थल निर्माण गर्ने जिम्मा सो मन्त्रालयलाई दिएको थियो । 

मङ्गलबार महानगरको वातावरण व्यवस्थापन समितिका पदाधिकारीले पनि वातावरण व्यवस्थापन विभागका अधिकारीसहित फोहरको अन्तिम व्यवस्थापन र निर्माणाधीन स्थलको अवलोकन गरेको छ । 

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलसहितको टोलीले बञ्चरे डाँडाको पूर्वाधार सक्दो चाँडो सक्न सम्बद्ध पक्षलाई अनुरोध गरेको छ । अहिले नुवाकोटको ककनी गाउँपालिकाको सिसडोलमा फोहर व्यवस्थापन गरिँदै आएको छ । तेह्र वर्षदेखि सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै