काठमाडौँ । भारतमा जारी हिरो गोल्डकप महिला फुटबलको उपाधिका लागि आज नेपाल र म्यानमार खेल्दै छन् ।
फाइनलमा आज नेपालले म्यानमारसँग पहिलो खेलमा व्यहोरेको हारको बदला लिने प्रयासमा हुने छ । पहिलो खेलमा नेपाल म्यानमारसँग ३-० ले पराजित भएको थियो । म्यानमार भने अहिलेसम्म प्रतियोगितामा अपराजित छ भने अपराजित रहँदै प्रतियोगिता टुंग्याउने तयारीमा छ । म्यानमार र नेपालबीचको फाइनल खेल साँझ सवा ६ बजे सुरु हुने छ ।
पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० ले पराजित हुँदै प्रतियोगिताको सुरुवात गर्दा घरेलु टोली भारतले इरानलाई पराजित गर्दै सुखद् सुरुवात गरेको थियो ।
फिफा वरियतामा १०८ औ स्थानमा रहेको नेपालले समुह चरणमा ६०औ स्थानमा रहेको इरान र ६२औ स्थानमा रहेको भारतलाई पराजित गरेको छ भने अब ४४औ स्थानमा रहेको म्यानमारविरुद्ध फाइनल खेल्दै छ ।
प्रतियोगितामा सबैभन्दा कम वरियतामा रहेको नेपालले म्यानमारसँग पराजित हुँदा बाँकी दुवै खेलमा जित निकालेको थियो । भारतमाथि २–१ को जित निकालेको नेपालले अन्तिम खेलमा इरानमाथि ३–० को फराकिलो जित दर्ता गर्न सफल भयो ।
इरानले कुनै पनि खेल नजित्दा भारतले एक खेल जित्यो भने २ खेल जितेको नेपाल र तीन खेल नै जितेको म्यानमार फाइनलमा पुगेका हुन् ।