• २०८१ बैशाख १४ शुक्रबार

अन्तत: नासाद्वारा अपरच्युनिटी रोभरको मिसन अन्त्य भएको घोषणा

kharibot

काठमाडौँ । नासाले मङ्गल ग्रहमा रहेको उसको अपरच्युनिटी रोभरको मिसन अन्त्य भएको घोषणा गरेको छ । ओप्पी उपनामले पनि चिनिने उक्त रोभर विगत ८ महिनादेखि सम्पर्क बाहिर रहेको थियो । अपरच्युनिटीलाई २०१८ जुनमा मङ्गल ग्रहमा गएको धुलोको आँधीले छोपेपछि, नासाको सम्पर्क बाहिर गएको थियो । शौर्य उर्जाले चल्ने अपरच्युनिटीलाई आँधीले छोपेपछि आफ्नो उर्जाको स्रोतबाट वन्चित हुँदा निष्क्रिय बनेको उक्त रोभर आँधी सकिएपछि पनि सक्रिय हुन सकेन । 

जुन १० मा अन्तिमपटक सम्पर्क गरिएको अपरच्युनिटीसँग फेरी सम्पर्क स्थापित गर्न नासाको जेट प्रपल्सन ल्याब्रोटरीमा रहेको स्पेस फ्लाइट अपेरेशन फेसिलिटीका इन्जिनियरहरूले १००० वटा भन्दा कमाण्डहरू पठाए पनि कुनै सफलता हाँसिल हुन नसकेपछि नासाले अपरच्युनिटीको मिसन अन्त्य भएको घोषणा गरेको हो । जनवरी २००४ मा मङ्गल ग्रहको सतहमा अवतरण भएको अपरच्युनिटीले मङ्गल ग्रहमा करिब ९० दिनसम्म काम गर्नेसक्ने अपेक्षा गरिएको थियो । तर अपरच्युनिटी अपेक्षा गरेभन्दा निकै धेरै समयसम्म सक्रिय रहन सक्यो । १४ वर्षसम्म संचालनमा आएको अपरच्युनिटीले पृथ्वीबाहिर सबैभन्दा लामो समयसम्म सक्रिय रहेको रोबोटको कीर्तिमान पनि राख्न सफल भएको छ । अपरच्युनिटीसंगै मङ्गल ग्रहमा पठाईएको उसको जुम्ल्याहा रोभर भनिने स्प्रिटले भने मे २०११ मा काम गर्न छाडेको थियो ।

नासाले अपरच्युनिटीले हाँसिल गरेका उपलब्धिहरूलाई नासाको मङ्गल ग्रह मिसनकै सबैभन्दा ठूलो सफलतामध्यको एक भनेको छ । अपरच्युनिटीको सहायताले मङ्गल ग्रह कुनै समय अहिलेको जस्तो अत्यन्त चिसो र सुक्खा नभएर केही न्यानो र ओसिलो भएको निस्कर्ष निकालिएको थियो । अपरच्युनिटी र स्प्रिटका उपकरणहरूले मङ्गल ग्रहका चट्टानहरूमा प्राचीन समयमा लामो समयसम्म पानी रहेको पत्ता लाएका थिए । यी रोभरहरूले मङ्गल ग्रहको सतहमा अवतरण गर्ने बित्तिकै त्यहाँ रहेको इगल क्रेटरमा गोलो आकारका साना डल्लाहरूको तस्बिर कैद गरेका थिए । वैज्ञानिकहरूले ती डल्लाहरूमा फलाम धातु भएको हेमटिट नामको खनिज रहेको निष्कर्ष निकाल्न पुगे । यो खनीज पानीको उपस्थितिमा बन्ने भएकाले त्यहाँ कुनैबेला पानी भएको आधार मिलेको थियो । 

तर वैज्ञानिकहरूले त्यहाँ हुनसक्ने पानीमा एसिडको मात्रा धेरै भएको निस्कर्ष निकाले, जुन जीवन धान्नको लागि उपयुक्त थिएन । तर केही समयपछि मङ्गल ग्रहको अर्को क्रेटर इन्डेभिअरमा अपरच्युनिटीले खनिजयुक्त माटो र जिप्सम जम्मा भएको भेट्टाएको थियो । जसले गर्दा नासाका वैज्ञानिकहरूलाई त्यहाँ कुनै समय शुन्य पीएच मात्रा भएको पिउन सकिने पानी भएको स्पष्ट प्रमाण मिलेको थियो । यसका साथै अपरच्युनिटीले पृथ्वीमा मङ्गल ग्रहको सतहमा रहेर खिचेका २ लाख भन्दा बढी तस्बिरहरू पठाएको थियो जसमा मङ्गल ग्रहमा हुने सूर्य ग्रहणका तस्बिरहरू पनि रहेका थिए । 

त्यसै गरी नासाकाअनुसार अपरच्युनिटीको सफलताले नासालाई अब आउने मिसनहरूमा मङ्गल ग्रहको सतहमा रोभरहरूलाई अवतरण गर्न र संचालन गर्न अझ धेरै सूचना प्राप्त भएको छ । 

नासाले पछिल्लोसमयमा रोबोटिक ल्याण्डर इनसाइट मङ्गल ग्रहको सतहमा सफल अवतरण गराएको थियो भने नासाकै क्युरोसीटि रोभरले छ वर्षदेखि मङ्गल ग्रहको गेल क्रेटरमा अन्वेषण गरिरहेको छ । त्यसै गरी मङ्गल ग्रहको लागि आगामी मिसनहरूमा नासाको मार्स २०२० रोभर र यूरोपियन स्पेस एजेन्सीको एक्सोमार्स रोभर रहेका छन् । यी दुई रोभरहरूलाई जुन २०२० मा प्रक्षेपण गर्ने तयारी गरिएको छ । यी रोभरहरूलाई मङ्गल ग्रहमा विगतमा रहन सक्ने भनिएका जीवाणुहरूबारे अन्वेषण गर्नका लागि भनेर डिजाइन गरिएको जनाइएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै