• २०८१ बैशाख १४ शुक्रबार

एन्ड्रोईड एपहरूले प्रयोगकर्ताका गोप्य सूचना विज्ञापनकर्तालाई बेच्ने गरेको खुलासा

kharibot

काठमाडौँ । करिब १७ हजारभन्दा बढी एन्ड्रोईड एपहरूले नियम विपरित स्मार्टफोन प्रयोगकर्ताहरूको सूचना संकलन गरेर विज्ञापनकर्ताहरूलाई बाँड्ने गरेको एक अनुसन्धानले देखाएको छ ।

अमेरिकाको युनिभर्सिटी अफ क्यर्लिफोनियाअन्तर्गतको इन्टरनेशनल कम्प्युटर साइन्स इन्स्टिच्युटले गरेको अनुसन्धानमा धेरै एपहरूले स्मार्टफोनको 'एड्भरटाइजिंग आइडी' मात्र नभएर त्यस 'एड्भरटाइजिंग आइडी'लाई फोनको म्याक एड्रेस, आइएमइआइ नम्बर र एन्ड्रोइड आइडीसँग लिंक गरेर सूचना संकलन गर्ने गरेको पाइएको छ। एपहरूले स्मार्टफोनहरूको यस्तो सूचना विज्ञापनकर्ताहरूलाई उपलब्ध गराउने कार्यलाई गुगलले अपनाएको प्रयोगकर्ताहरूको डाटा संकलन गर्नेसम्बन्धि नीतिको उल्लङ्घन मानिएको छ।

गुगलको नियमअनुसार एप डेभलोपरहरूले प्रयोगकर्ताहरूको स्मार्टफोनका हार्डवेयर प्रणालीका सूचनाहरू संकलन गर्न मिले पनि त्यस्ता सूचनाहरूलाई प्रयोगकर्ताहरूको स्पष्ट अनुमति बिना स्मार्टफोनको एड्भरटाइजिंग आइडीसंग लिंक गर्न पाइदैन। अझ गुगलले त एप डेभलपरहरूलाई प्रयोगकर्ताको एड्भरटाइजिंग आइडी बाहेका अन्य सूचनाहरू संकलन नगर्न सिफारिस गर्ने गर्दछ । 

यसरी प्रयोगकर्ताहरूका सूचना विज्ञापनकर्ताहरूलाई बाँड्ने लोकप्रिय एपहरूमा क्लिन मास्टर, सबवे सर्फर्स, फ्लिपबोर्ड, माइ टकिंग टम, टेम्पल रन २, थ्रीडी बलिंग, एंग्री बर्ड क्लासिक, एट बल पुल, अडिबल, बनाना कंग, ब्याट्री डक्टर, ब्युटी प्लस, क्याम स्क्यानरलगायत रहेका छन् । यी एपहरू संसारभर १० करोड भन्दा बढी फोनहरूमा प्रयोग हुने गरेका छन् भने क्लिन मास्टर एप इन्स्टल गरिएका फोनको संख्या त झन्डै एक अर्ब नाघिसकेको छ।  

अनुसन्धानकर्ताहरूले एपहरूको यस्तो अवैध कार्यबारे गुगललाई अवगत गराइसकेको र गुगलले यसबारे धेरै एपहरूमाथि आवश्यक कदम पनि चालेको र अन्य एपको समीक्षा गरिरहेको जनाएको छ । गुगलकाअनुसार उसले केही एपहरूलाई फ्रड डिटेक्सन जस्ता कार्यको लागि फोनको हार्डवेयर आइडी संकलन गर्ने अनुमति दिए पनि विज्ञापनको लागि भने यस्ता सूचना उपलब्ध गर्ने अनुमति दिएको छैन । गुगलले यसरी स्मार्टफोन प्रयोगकर्ताको एड्भरटाइजिंग आइडी र हार्डवेयर आइडीलाई लिंक गरेर विज्ञापनको लागि प्रयोग गर्न सख्त रुपमा निषेध गरेको पनि बताएको छ । 

स्मार्टफोन प्रयोगकर्ताले आफ्नो फोनमा कुकिजहरूलाई क्लियर गरेर आफ्नो एड्भरटाइजिंग आइडी बदल्न सकेपनि म्याक एड्रेस, आईएमईआई लगायतका सूचनाहरू फोनको हार्डवेयर आइडीहरू हुन्, जुन प्रयोगकर्ताहरूले परिवर्तन गर्न मिल्दैन । त्यसैले एपहरूले फोनको एड्भरटाइजिंग आइडी र हार्डवेयर आइडी विज्ञापनकर्तालाई बाँड्दा प्रयोगकर्ताले जतिपटक नै आफ्नो एड्भरटाइजिंग आइडी रिसेट गरेपनि विज्ञापनकर्ताहरूले प्रयोगकर्ताको पहिचान गर्न सक्छन् ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै