• २०८१ बैशाख १४ शुक्रबार

युट्युबले बालबालिकाको भिडियोमा कमेन्ट निषेध गर्ने !

kharibot

युट्युबले १३ वर्षमुनिका बालबालिकाको भिडियोमा कमेन्ट गर्न नमिल्ने बनाउन लागेको जनाएको छ । युट्युबले बाल यौन दुराचारीहरूले बालबालिकाको युट्युब भिडियोहरूमा अश्लील टिप्पणी गर्ने गरेको पाइएकोले यस्तो कदम चालिएको बताएको छ ।

त्यसैगरी युट्युबले यौन शोषकको सिकारमा पर्न सक्ने किशोरकिशोरीहरूको भिडियोमा पनि यस्तो व्यवस्था लागु गर्ने जनाएको छ ।

पछिल्लो समयमा केही बालिकाहरूको भिडियोमा अश्लिल अर्थ लाग्ने थुप्रै कमेन्टहरू फेला पर्न थालेपछि भिडियोका विज्ञापनदाताहरूले युट्युब वहिस्कार गर्ने चेतावनी दिएका थिए ।

अघिल्लो हप्ता मात्र युट्युबले १३ वर्षमुनिका बालबालिका समावेश भएका थुप्रै भिडियोहरूमा कमेन्ट 'डिसेबल' गरेको थियो । तर अब भने युट्युबले आफ्नो व्यवस्थामा नै केही बदलाव गरेर बालबालिकाको भिडियोमा कमेन्ट 'डिसेबल' गर्न लागेको हो ।

त्यसैगरी युट्युबले बालबालिकाको खेलौनाको समीक्षा गर्ने च्यानलहरूमा भने च्यानलले भिडियोको कमेन्ट निरिक्षण गरेर मात्र समावेश गर्ने सर्तमा ती च्यानलहरूमा कमेन्ट 'डिसेबल' नगर्ने जनाएको छ । त्यस्ता च्यानलमा बाल यौन दुराचारीहरूको उपस्थिति नदेखिएकाले युट्युबले ती च्यानलहरूलाई अपवादमा राखेको हो ।

युट्युबले अश्लील कमेन्टहरूको पहिचान गर्न र त्यस्ता कमेन्ट हटाउन आफ्नो नयाँ आर्टिफिसियल इन्टेलिजेन्सयुक्त प्रविधिको पनि प्रयोग गर्ने जनाएको छ ।

युट्युबले अहिले पनि आफ्नो नियम उल्लङ्घन गर्ने थुप्रै कमेन्टहरू हटाउने गरे पनि बालबालिकाको भिडियोमा सुक्ष्म ढङ्गले अश्लील कमेन्ट गर्ने बाल यौन दुराचारीहरूबाट समस्या बेहोर्दै आएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै