काठमाडौँ । जर्मनीको राष्ट्रिय फुटबल टिममा तीन वरिष्ठ खेलाडीले अब ठाउ नपाउने भएका छन् ।
जर्मनीलाई सन् २०१४ को विश्व कप जिताएका तीन प्रमुख खेलाडी थोमस मुलर, माट्स हुम्मेल्स र जेरोमे बोट्यांगलाई राष्ट्रिय टिममा अब समावेश नगर्ने घोषणा टिमका म्यानेजर जोआचिम लोले स्पष्ट पारेका छन् ।
यी तीन खेलाडीले जर्मनीलाई २४ बर्षपछि २०१४ मा ब्राजिलमा आयोजित विश्वकप फुटबलको उपाधि दिलाउदा टिमका प्रमुख खेलाडी थिए ।
म्यानेजर लोले यी तीन खेलाडी क्लब तहमा अहिले पनि उत्कृष्ट फुटबल खेलिरहेको भएपनि राष्ट्रिय टिममा अब समावेश गर्न नसक्ने स्पष्ट गरेका हुन् । उनले अब टिममा युवा खेलाडीलाई मौका दिने भन्दै उनले यस्तो निर्णय गरेको बताएका छन् ।
राष्ट्रिय टिमका म्यानेजरले नै अब राष्ट्रिय टिममा समावेश नगर्ने भनेपछि अब मुलर, बोट्यांग र हुम्मेल्सको अन्तर्राष्ट्रिय क्यारियर सकिएको बताइएको छ ।
लोले तीन खेलाडीलाई राष्ट्रिय टिममा गरेको योगदानको लागि धन्यवाद दिदै जर्मनीको फुटबल टिमलाई नयाँ जीवन दिने अहिले सहि समय भएको बताएका छन् ।
सन् २०१४ को विश्वकप पछि जर्मनीले राम्रो प्रदर्शन गर्न सकेको छैन । सन् २०१६ को युरो कपमा जर्मनी फ्रान्ससँग सेमिफाइनलमा पराजित भएको थियो भने गत बर्ष रसियामा सम्पन्न विश्वकपमा समुह चरणमा मेक्सिको र दक्षिण कोरियासँग पराजित हुदै समुह चरणबाट नै बाहिरिएको थियो ।
२९ बर्षिय थोमस मुलरले जर्मनीका लागि एक सय खेल खेल्दै ३८ गोल गरेका छन् । त्यस्तै ३० बर्षिय माट्स हुम्मेल्सले जर्मनीका लागि ७० खेल खेलेका छन् भने ५ गोल गरेका छन् ।
त्यस्तै जेरोमे बोट्यांगले जर्मनीका लागि ७६ खेल खेलेका छन् भने एक गोल समेत गरेका छन् ।