काठमाडौँ । प्रत्येक वर्ष मार्च आठ तारिककम दिन मनाइने अन्तराष्ट्रिय नारी दिवस सन् १८९७ बाट सुरु भएको हो । नारी दिवस कुनै उत्सव नभएर महिलाहरुको हक , अधिकार र सम्मानको साथसाथै महिला सशक्तिकरणको अभियानलाई विश्वब्यापी रुपमा बुलन्द पार्ने अनन्तकालिन सहयात्रा हो ।
विगतका वर्षहरुमा जसरी यो वर्ष पनि १०९ औँ अन्तराष्ट्रिय नारी दिवसलाई , मार्च ८को दिन संसारका महिलाहरुले नारी दिवस मनाउँदै छन् । सन् १९१० मा डेनमार्कको रानधानी कोपेन हेगनमा अन्तराष्ट्रिय महिलाहरुको सहभागीता भेला भएको थियो । जहाँ १७ देशबाट सयजना भन्दा बढी महिलाहरुको सहभागीता रहेको थियो । विश्वका महान सर्वहारावादी महिलाहरुद्धारा महिला सशक्तिकरणको निम्ती ,महिला मुक्तिका निम्ति संघर्षको थालनी भएको दिन हो, मार्च ८ ।
जसको फलस्वरुप सामाजिक, आर्थिक, शैक्षिक, साँस्कृतिक, राजनैतिक जस्ता विविध क्षेत्रमा भएको विभेद ,शोषण र दमनको बिरुद्धमा आवाज बुलन्द गर्दै अन्तराष्ट्रियस्तरसम्म प्रभाव जमाउँन सफल अग्रज महिलाहरुले सन् १९११ मा पहिलो पटक अन्तराष्ट्रिय नारी दिवस मनाउँने क्रमको सुभारम्भ गरे । जसमा क्लारा जेटकिन, अलेक्जान्ड्रा कोलोन्ताई, रोजा लक्जेम्बर्ग, नादेज्दा क्रुप्सकाया, याङ काइ हुई, चियाङ चिङ, जेनी माकर्स लगायत महान् सर्वहारा महिलाहरुलाई मुख्य मानिन्छ ।
नेपालको सन्दर्भमा नारी दिवसलाई महिलाको समस्या समाधान तथा महिला मुक्तिको आन्दोलनकोसंग जोडेर मनाउन थालेको पनि धेरै भइसकेको छ । यद्यपि नारीलाई आर्थिक, सामाजिक, राजनैतिक रुपमा समाज र राज्यले गर्ने विभेद थपिदै गएको छ । जतिनै महिला अधिकार र हिंसा विभेद अन्त्य हुनुपर्छ भनी निती निर्माण भएता पनि नेपालमा झन् महिला हिंसा बढ्दै गएको छ । आर्थिक रुपमा महिलाहरु घरपरिवारभित्रै शोषित भएकाले उनीहरुलाई बाहिरी काममा पुरुषले पाउने तलबभन्दा कम पाइरहेका हुन्छन् । यस किसिमको तिव्र शोषण प्राय ग्रामिण क्षेत्रमा भएको पाईन्छ । महिला शोषणको अर्को जड सामाजिक शोषण हो । समाजमा चलिआएका विभिन्न रितिरिवाज,धर्म, मान्यता आदीले पनि महिलाहरु शोषित भइरहेका हुन्छन् । जस्तै, जातीय भेदभावको नितीले गर्दा अछुत महिलाहरुले अझ बढी समाजिक भेलभाव खप्नु परिरेहको छ । यसैगरी संसदीय व्यवस्था जस्तो खर्चिलो राजनितीक संरचनामा महिलाहरु सम्पतिविहिन भएकै कारणले गर्दा अगाडी आउन सकिरकेका छैनन् ।
ऐतिहासिक कालदेखि पुरुषहरु सधैँ मालिक वर्गमा पर्दै आएकाले महिलाहरुको सम्बन्धमा तिनीहरुमा सचेत वा अचेत हेप्ने, आफूभन्दा तल ठान्ने प्रवृति देखिन्छ । पुरुषहरुले आफूलाई सामान्य काममा समेत विशिक्ष्ट सुविधा खोज्ने अर्थात, आफ्नो श्रीमतीलाई उहिँ परम्परागत काममा लगाई राख्ने जस्ता झिना मसिना प्रवृत्तिहरुले गर्दा उदयमान महिलाहरुको क्षमताको विकासमा गहिरो असर परिरहेको छ । यसरी एकले अर्कालाई निषेध नगरी सामुहिक सहकार्य प्रक्रियाबाट अगाडी बढ्दा महिलाको शोषणमा कमि आउने थियो ।
त्यसैगरी नेपालमा लैङ्गिक शोषणको नमुना त्उहाको सम्पती सम्बन्धबाट प्रस्ट थाहा पाउन सकिन्छ । जस्तो कि, छोराहरुले जन्मने विक्तिकै पैत्रिक सम्पतिमाथि निशर्त अधिकार जमाउन सक्नु तर छोरीहरु यसबाट बञ्चित हुनुपर्ने यो बाट पनि कुरा प्रस्ट हुन्छ ।
नेपाली महिलाहरुलाई पैत्रिक सम्पतिबाट बञ्चित गरिएको रुप र मात्रा भने समाजको अबस्था र देशको असमान विकासको स्थिती अनुरुप फरक परेको हो । नेपाल जस्तो निरपेक्ष गरिवीको रेखामुनी रहेको देशमा बहुसंख्यक सम्पती विहिन बाबुका छोरीहरुले कानुनी रुपमा पैत्रिक सम्पती माथि समान अधिकार पाए पनि व्यवहारमा त्यो कौवालाई बेल पाक्यो हर्ष न विष्मात् भने झै निरर्थक हुने स्वत सिद्ध छ ।
समाजमा महिलाहरु निर्बल, ,निरिह र कमजोर हुनुको मुख्य कारण भनेकै विद्यमान पित्रिसतात्मक समाज र संरचना नै हो । वास्तवमा महिलाहरु आर्थिक , शारिरिक रुपमा कमजोर लिगं हो भन्ने कुरा पनि पित्रिसतात्मक संरचनाकै कारणले प्रमाणित गरेको कुरा हो । अन्त्य हुनै नसक्ने जस्ता लाग्ने श्रमविभाजन, असमानता, विभेद र स्तरीकरणले महिला माथि शोषण जारी छ । आजको मुख्य प्रश्न महिलाको सार्वजनिक उपस्थिती किन कमजोर छ वा भयो भन्ने हो । यस प्रश्नको उत्तर सबैखाले समाजबाट एउटै आउँछ भन्ने हुदैन, तर कारण चाँहि एउटै हो , सम्पती, समाजिक र आर्थिक प्रणालीसँग महिलाको निकट सम्बन्ध नहुनु नै हो ।
समाजको शोषणयुक्त आर्थिक संरचना र भौतिक शक्ति नै सबैभन्दा ठूलो शक्ति मान्ने समाज,सामन्ति संस्कार ब्याप्त समाज यहाँसम्म की रजस्वलालाई अपबित्रिको संज्ञा दिई गर्भधारणलाई समेत पाप मानी चोख्याउने समाजले गर्दा खासगरी महिलाहरु पछि पर्नु परिरहेको छ । अझ, अर्को डरलाग्दो प्रवृत्ति भनेको पूँजीपतिहरुले नाफा कमाउने नाममा विद्यमान महिला पुरुषवीचको असन्तुष्टिको भावनालाई समेत अश्लिल साहित्यको माध्यमबाट यौन तृप्तिलाई उत्तेजित पारेर बजारमा बेच्छ ।
यसरी महिलाहरु विभिन्न कारणले पछि परिरहेका हुनाले वर्गीय शोषण र लिङिगय शोषणको अन्त्य गर्दै महिलामाथि भएको शोषणलाई शक्तिको रुपमा प्रयोग गरी अगाडी बढ्नु जरुरी छ ।
मुख्य त महिलाहरुले के बुझ्नु पर्दछ भने अन्ततः तिनीहरुको हिनताको स्रोत नै यो शोषणयुक्त, पित्रृसतात्मक राज्य सक्ता हो । यो अन्तरविरोधको गाठो फुक्यो भने अरु झिना मसिना अन्तरविरोधहरु स्वतः हल हुँदै जानेछन् । महिला मुक्तिका निमित्त विशेषगरी महिलाहरुले पनि व्यवहारमा मात्र खारिएर होइन, शैद्धान्तिक र राजनीतिक क्षेत्रमा पनि खारिन आबश्यक छ । महिलाहरु विशेषगरी राजनीतिक अधिकारका साथसाथै आर्थिक अधिकारले सम्पन्न हुन जरुरी हुन्छ । यसो हुँदामात्र महिलाहरुले वास्तविक स्वतन्त्रता प्राप्त गर्न सक्दछन् ।
तसर्थ, यो अन्तराष्ट्रिय नारी दिवस चेतनशील नारीहरुको मात्र अभिभारा नभइ समाज र राज्यको नारीमुक्तिको गहन जिम्मेवारी हो ।
प्रत्येक वर्ष अन्तराष्ट्रिय नारी दिवस मान्नुको पछाडी कुनै उत्सव नभएर महिलाहरुको वास्तविक स्वतन्त्रता प्राप्तगरी नारी मुक्ति हुनु हो ।
अन्त्यमा अन्त्यमा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा देश भित्र र बाहिर रहनु भएका सम्पुर्ण नारीहरुमा हार्दिक शुभकामना ।
(लेखक गिरी अनेरास्ववियु विदेश विभागकी सचिव हुन् )