• २०८१ बैशाख १४ शुक्रबार

मखन आगलागीको क्षति विवरण संकलन गर्न मेयर शाक्यको निर्देशन 

kharibot

काठमाडौं । आगलागीको क्षति बुझ्न र पीडितको कुरा सुन्न, महानगरका प्रमुख बिद्यासुन्दर शाक्य (आज) सोमबार बिहान मखन यट्खा पुगेका छन् । 

महानगरको २४ वडामा पर्ने यस स्थानमा गएको बिहीबार मध्यान्न १२ बजे सल्किएको आगो साँझ ७ बजे पूर्ण नियन्त्रणमा आएको थियो । भित्री सहर, पुराना संरचनामा आगो लागेकोले निभाउन समय लागेको थियो । 

बिपद् व्यवस्थापन बिभागका अधिकारीसहित घटनास्थल पुग्नु भएका मेयर शाक्यले — जलेका घरको अबस्था अबलोकन गरिसकेपछि जनप्रतिनिधि, प्रभावित परिवार र स्थानीयसँग घटनाको अवस्था बुझेका थिए । 

त्यस क्रममा आगलागीमा घाइते भएका राजन थापाकी आमा कमला थापाले छोरा खतरामुक्त भएको जानकारी गराएका थिए । अनुहारमा दाग नबसोस् भनेर साना—साना गरेर छोराको अनुहारमा १०० टाँका लगाएको जनाउँदै कमलाले आगलागीमा सबै गुमाएपछि अहिले आफन्तकोमा बसिरहेको पनि सुनाइन् । उनका अनुसार ग्याँस पड्किँदा आएको आवाजले झ्यालका शिशा फुटेका थिए । तिनै शिशाले राजनको आनुहारमा चोट लागेको हो ।  

घटना स्थलको अबस्था र समस्या समाधान गर्नु पर्ने आवश्यकतामा कुरा गर्दै मेयर शाक्यले बिपद् व्यवस्थापन विभागलाई घटना, घटनास्थल र क्षतिको तथ्य संकलन गर्न निर्देशन दिए । 

वडा कार्यालय, स्थानीयबासी र प्रभावित परिवारसँग समन्वय गरेर तत्काल क्षतिको विवरण तयार पार्नोस्, उनले अवलोकनका क्रममा सँगै रहेकी  बिभागका प्रमुख अर्चना श्रेष्ठलाई निर्देशन दिँदै मेयर शाक्यले भने — वडाबाट राहतका कार्यक्रम अघि बढाउनोस् । 

विभागले, तत्कालका लागि १ लाख रुपैयाँ वडामा पठाउने तयारी गरेको, विभागीय प्रमुख श्रेष्ठको भनाइ छ । उनले भनिन् — क्षतिको विवरण लिन आजै इञ्जिनियरसहितको टोली पठाउँदैछौं । 

प्रारम्भिक सूचनाअनुसार, रञ्जु तुलाधार, पुष्प सिलाकार र मनोज सिलाकारको घर पूर्ण क्षति भएको छ भने धनकाजी सिंह, शिव नापित र पुजन रञ्जितको घरमा पनि क्षति पुगेको छ । पूर्ण क्षतिभएका घरमा ८ परिवार बसोबास गरिरहेका थिए । ती परिवारले प्रयोग गर्ने ग्याँससमेत बल्न थालेपछि आगो नियन्त्रण गर्न कठिन परेको जुद्ध बारुण यन्त्र कार्यालय काठमाडौँका प्रमुख बद्रीमान नगरकोटीको भनाइ छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै