• २०८१ बैशाख १४ शुक्रबार

मदर टेरेसाको जीवनमा आधारित बलिउड चलचित्र बन्ने

kharibot

नोबेल शान्ती पुरस्कार विजेता समाजसेवी मदर टेरेसाको जीवनमा आधारित चलचित्र बन्ने भएको छ ।

भारतीय संचारमाध्यमहरूले जनाएअनुसार फिल्मका निर्माताहरूमा प्रदीप शर्मा, नितिन मनमोहन, गिरिश जोहर र प्राची मनमोहन रहेका छन् । चलचित्रबारे आधिकारिक घोषणा गर्नु अघि फिल्म निर्माताहरूले मदर टेरेसाले स्थापना गरेको कलकत्तास्थित मिसनरिज अफ च्यारिटीका अधिकारिहरूसँग भेट गरेका थिए । फिल्मको निर्देशन एवम् लेखन सीमा उपाध्यायले गर्ने जनाइएको छ ।

फिल्मका कलाकारहरूबारे अहिले आधिकारिक रुपमा नखुलाइए पनि फिल्ममा भारतीय तथा विदेशी कलाकारहरू समावेश गरिने बताइएको छ । फिल्मको छायांकन यसै वर्षको अन्त्यतिरबाट सुरु हुनेछ भने फिल्मलाई २०२० मा रिलिज गर्ने योजना रहेको जनाइएको छ ।

यसअघि पनि मदर टेरेसाकोबारेमा डकुमेन्ट्री एवम् फिचर फिल्म रिलिज भएका छन् । पछिल्लो समयमा २०१४ मा उनले आफ्नो लामो समयका साथी फादर केलेस्टे भान एक्जेमलाई झन्डै ५० वर्षको समयमा लेखेका चिठीहरूमा आधारित रहेर ‘द लेटर्स’ नामको चलचित्र रिलिज गरिएको थियो । चलचित्रमा वेलायती अभिनेत्री जुलियट स्टेभेन्सनले मदर टेरेसाको भूमिका निर्वाह गरेकी थिइन् ।

सन् १९१० अगस्ट २६ मा मेसोडेनियामा जन्मेकी मदर टेरेसा १९२९ मा भारत आएर मिसनरी चर्चमार्फत सामाजिक कार्यमा संलग्न भएकी थिइन् । उनलाई १९७९ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो भने १९८० मा भारत सरकारले भारतको सर्वच्च नागरिक सम्मान भारत रत्नबाट विभूषित गरेको थियो । सन् १९९७ सेप्टेम्बर ५ मा उनको ८७ वर्षको उमेरमा निधन भएको थियो ।

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै