मोर्गन फ्रिम्यान २०१७ मा रिलिज भएको हलिउड चलचित्र ‘द हिटम्यान्स बडीगार्ड’ को सिक्वेल ‘द हिटम्यान्स वाइफ्स बडीगार्ड’ मा देखिने भएका छन् ।
हलिउड म्यागेजिन डेडलाइनले जनाएअनुसार चलचित्रको पहिलो भागमा भएका कलाकारबाहेक मोर्गनसँगै फ्र्यांक ग्रिलो र एन्टोनियो ब्यान्डेरस पनि समावेश गरिएका छन् ।
चलचित्रमा मोर्गन फ्रिम्यानले खेल्ने पात्रबारे भने केही खुलाइएको छैन । त्यसैगरी सिक्वेलको पहिलो भागमा देखिएका रायन रेनल्ड्स, स्यामुल एल ज्याक्सन, रिचार्ड इ ग्रान्ट र सालमा हायक फेरी दोहोरिने छन् ।
सिक्वेललाई पहिलो भाग बनाएकै टेड हग्सले निर्देशन गर्नेछन् भने चलचित्रको पटकथा टम ओ’कनरले लेखेका छन् ।
चलचित्रको छायांकन यही महिनादेखि युरोपमा सुरु भइसकेको छ भने चलचित्रको रिलिज मितिबारे अहिले केही खुलाइएको छैन ।
२०१७ अगस्टमा रिलिज भएको ‘द हिटम्यान्स बडीगार्ड’ बक्स अफिसमा सफल रहँदै विश्वव्यापी रुपमा १८ करोड डलर भन्दा बढी कमाइ गर्न सफल भएको थियो ।
मोर्गन फ्रिम्यान यसअघि २०१८ मा डिज्नीको ‘द नटक्र्याकर एण्ड फोर रिल्म्स’ चलचित्रमा देखा परेका थिए ।
यसै वर्ष उनी 'लन्डन ह्याज फलन' फिल्म शृंखलाको तेस्रो चलचित्र ‘एन्जल ह्याज फलन’ मा पनि देखा पर्दैछन्, जुन अगस्ट २३ मा रिलिज हुने तयारीमा रहेको छ ।