• २०८१ बैशाख १४ शुक्रबार

अमेरिकाले अहिलेसम्मकै शक्तिशाली सुपरकम्प्युटर निर्माण गर्ने !

kharibot

अमेरिकी सरकारले कम्प्युटर सामाग्रीहरू निर्माण गर्ने कम्पनी इन्टेल र क्रे सँग सहकार्य गरेर अहिलेसम्मकै शक्तिशाली सुपरकम्प्युटर निर्माण गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार सन् २०२१ सम्म निर्माण गरिसक्ने योजना रहेको यस सुपरकम्प्युटरलाई परमाणु हतियार र अन्य जटिल अनुसन्धानहरूमा प्रयोग गरिने छ । अमेरिकाको उर्जा विभाग र उर्जा विभागको लागि नै काम गरिरहको सिकागो विश्वविद्यालय अन्तर्गतको एर्गन नेसनल ल्याब्रोटरीले उक्त सुपरकम्युटरको प्रयोग गर्ने जनाइएको छ ।

औरोरा नाम राखिएको उक्त सुपरकम्प्युटरको लागत खर्च झन्डै ५० करोड अमेरिकी डलर हुने बताइएको छ । औरोरा प्रयोगमा आएमा यो सुपरकम्प्युटर नियमित रुपमा एक्जाफ्लप हिसाब अर्थात् प्रतिसेकेन्ड एक अर्ब अर्ब हिसाब गर्न सक्ने पहिलो सुपरकम्प्युटर हुने छ ।

विश्वका शक्तिशाली सुपरकम्प्युटरहरूको सूची निकाल्ने टप ५०० प्रोजेक्टका अनुसार अहिलेको सबैभन्दा शक्तिशाली सुपर कम्प्युटर आइबीएमको समिट सुपरकम्प्युटर हो । अमेरिकाको ओकरिज नेसनल ल्याबरोटरीमा रहेको यस सुपरकम्प्युटरले २०० पेटाफ्लप हिसाब अर्थात् प्रति सेकेन्ड बीस करोड अर्ब हारहारीको हिसाब सम्पन गर्न सक्छ ।

समिटले जुलाई २०१८ मा भने एक पटक १.८८ एक्जाफ्लपको हिसाब सम्पन गर्न सफल भएको थियो । टप ५०० को सूचीमा रहेका विश्वका सबैभन्दा शक्तिशाली ५०० सुपरकम्प्युटरहरूमा सबैभन्दा धेरै चीनमा २२९ वटा शक्तिशाली सुपरकम्प्युटर रहेका छन् । त्यसैगरी चीनपछि अमेरिकासँग १०८ वटा शक्तिशाली सुपरकम्प्युटरहरू रहेका छन् ।  

वर्तमान समयमा अमेरिका लगायत चीन, जापान, ताइवान, भारत र युरोपियन युनियनले पनि एक्जाफ्लप हिसाब गर्न सक्ने शक्तिशाली सुपरकम्प्युटर निर्माण गर्ने योजना बनाइरहेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

इन्टेल र क्रेले निर्माण गर्ने भनिएको औरोरा सुपरकम्प्युटरको प्रमुख कार्य भनेको परमाणु विस्फोटको ‘सिम्युलेसन’ गर्ने जनाइएको छ । त्यसैगरी आर्टिफिसियल इन्टेलिजेन्सको क्षमता हुने यस सुपरकम्प्युटरले मिलेट्री भेट्रानहरूमा आत्महत्याका घटनाको रोकथाम, ब्याट्रीका विभिन्न सामाग्रीको निर्माण, मौसमको पूर्वानुमान, मानव मस्तिष्कको मापन, ब्रहमाण्डको अध्यन-अनुसन्धान लगायतका कार्यहरूमा पनि प्रयोग गरिने जनाइएको छ ।

इन्टेलले अहिले सुपरकम्प्युटरका चीपका लागि गेमिंग र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा तीव्र प्रगती गरिरहेको अमेरिकाको अर्को कम्पनी निभिडासँग प्रतिस्पर्धा गरिरहेको छ । अहिले विश्वका सबैभन्दा दश शक्तिशाली सुपरकम्प्युटरहरूमध्ये पाँचवटा सुपरकम्प्युटरमा निभिडाले निर्माण गरेका चीप प्रयोग हुने गरेका छन् ।    

   

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै