• २०८१ बैशाख १५ शनिबार

माइक्रोसफ्टले क्रोमियममा आधारित भएर एज ब्राउजर ल्याउने

kharibot

माइक्रोसफ्टले गुगलको ओपनसोर्स वेब ब्राउजर क्रोमियममा आधारित भएर आफ्नो माइक्रोसफ्ट एज ब्राउजरको पुन:निर्माण गरिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकी म्यागेजिन द भर्जले जनाएअनुसार माइक्रोसफ्ट एजको नयाँ भर्जनको इन्टरफेस गुगलको क्रोम र माइक्रोसफ्टको आफ्नै ब्राउजर एजको पुरानो भर्जनको मिश्रण हुनेछ । द भर्जले उक्त ब्राउजरको एक स्क्रीनसट पनि सार्वजनिक गरेको छ । द भर्जका अनुसार एजको लुक क्रोमको जस्तो देखिए पनि माइक्रोसफ्ट भने प्रयोगकर्तालाई विन्डोजको ब्राउजरको अनुभूति दिलाउन यसको डिजाइनलाई केही नयाँपन दिनेछ ।

प्रयोगकर्ताले एजको क्रोमियम भर्सन इन्स्टल गरेपछि क्रोमबाट ब्राउजिंग हिस्ट्री र पासवर्ड इम्पोर्ट गर्न सक्नेछन् । त्यसैगरी यस ब्राउजरमा क्रोमको वेब स्टोरबाट एक्सटेनसनहरू पनि डाउनलोड गर्न सकिनेछ । तर यसमा तत्कालै भने सिंक्रोनाइजेसन फिचर पूर्णरुपमा उपलब्ध नहुने जनाइएको छ । प्रयोगकर्ताले अहिलेका लागि केवल ‘फेवरेट’ फिचर मात्र सिंक्रोनाइज गर्न सक्नेछन् भने आगामी दिनमा हिस्ट्री, एक्सटेन्सन, पासवर्ड, सेटिन्ग्सहरू पनि सिंक्रोनाइज गर्न मिल्ने सुविधा थप्ने जनाइएको छ ।

माइक्रोसफ्टको नयाँ ब्राउजरलाई अहिले आधिकारिक रुपमा सार्वजनिक नगरिए पनि यो अनलाईनमा भने लिक भइसकेको छ । तर लिक भएको ब्राउजर भने एजको सुरुवाती भर्जन हो । माइक्रोसफ्टले यसको पूर्ण विकसित भर्जन कहिले सार्वजनीक गर्छ भन्नेबारे केही खुलाईएको छैन ।

माइक्रोसफ्टले आफ्नो वेब ब्राउजर एजलाई पहिलो पटक विन्डोज १० र एक्सबक्स वानका लागि २०१५ मा रिलिज गरेको थियो । त्यस पछि २०१७ देखि भने यो ब्राउजर आइओएस र एण्ड्रोइडका लागि पनि उपलब्ध हुन थालेको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै