• २०८१ जेठ १ मंगलबार

पाटनस्थित चार नारायण मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा

kharibot

काठमाडौँ । पाटन दरबार क्षेत्रमा रहेको चार नारायण मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । तीन तले उक्त मन्दिरको तल्ला दुई तलाको काम सम्पन्न भइसकेको छ । माथिल्लो तलाको काम अन्तिम चरणमा पुगेको र गजुरको काम भइरहेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।

विसं २०७२ को भूकम्पमा उक्त मन्दिर क्षतिग्रस्त बनेको थियो । त्यसको एक वर्षपछि पाटन दरबार क्षेत्रमा रहेका अरु स्मारकसँगै यस मन्दिरको पुनःनिर्माण शुरु गरिएको कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए ।

मन्दिर आगामी पाँच/छ महीनाभित्रमा सम्पन्न हुने उनले बताए । दुई तले सो मन्दिरको पुनःनिर्माणमा अधिकांश सामग्री पुरानो नै प्रयोग भइरहेको उनले बताए । भूकम्पका कारण यो मन्दिर पूर्णरुपले क्षतिग्रस्त बनेको थियो । उनले भने, “काम धमाधम भइरहेकाले एक वर्षभन्दा कम समय लाग्ने हामीले अनुमान गरेका छौँ ।”

काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटी) ले यहाँका १२ स्मारकको पुनःनिर्माण गरिरहेकामा हरिशङ्कर मन्दिर पनि एक हो । कोषले यसअघि नौ स्मारक सम्पन्न गरिसकेको छ भने सो मन्दिर र हरिशङ्कर मन्दिर निर्माणको काम भइरहेको प्याकुरेलले बताए ।

हिन्दू धर्ममा नारायण भन्नाले विष्णुको स्वरुप मानिन्छ । उक्त मन्दिर पाटनमा रहेका मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिर भएको स्थानीय बताउँछन् । मन्दिरलाई जगन्नारायण समेत भन्ने गरिन्छ । इँटैइँटाले बनेको सो मन्दिर कलाका हिसाबले सुन्दर मन्दिर भएको प्याकुरेलले बताए । उक्त मन्दिर १६ औँ सताब्दीको अन्तिममा बनेको पाइन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै