• २०८१ बैशाख २६ बुधबार

कर्णालीमा जलयात्रा

kharibot

धनगढी ।  “कलकल बग्ने कर्णाली नदीमा जलयात्राको मज्जा बेग्लै हुँदोरहेछ”, नेपालको सबैभन्दा लामो र बढी पानीको सतह भएको कर्णाली नदीमा गरिएको जलयात्रामा सहभागी हुनुभएका प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले अनुभव सुनाउनुभयो ।  

शनिबार गरिएको ‘कर्णाली र्याफ्टिङ  ज्याम्बोरी २०१९‘का क्रममा भएको जलयात्रामा धित मर्ने गरी रमाइलो गरिएको मन्त्री बोहराले बताउनुभयो । “पहिलो पटक जलयात्राको अनुभव भएको हो”, उहाँले भन्नुभयो, “आफू पौडी खेल्न पनि जान्ने भएकोले डर लाग्ने कुरै भएन ।”

कैलालीको चुरे पहाडी क्षेत्र सोल्टादेखि चिसापानी सम्मको २३ किलोमिटर कर्णाली नदीको भागमा गरिएको उक्त जलयात्रामा १११ वटामार्फत एक हजार ११० जनालाई जलयात्रा गराउने लक्ष्य राखिएको छ । तर प्रतिकूल मौसमका कारण जलयात्रा शुभारम्भका दिन शनिबार भने अपेक्षा अनुसारको सहभागिता जुट्न सकेन ।

तीन दिनसम्म सञ्चालन गर्ने गरी उक्त जलयात्राको आयोजना गरिएको हो । “एकैसाथ ठूलो सङ्ख्याका पर्यटक र जनसमूहलाई कर्णालीमा जलयात्रा गराएर विश्व रेकर्ड तोड्ने प्रयास गरेका हौं”, कैलाली भ्रमणवर्ष सचिवालयका संयोजक एवं जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले भन्नुभयो, “प्रतिकूल मौसमका बाबजुद पनि पहिलो दिन सर्वसाधारण र पर्यटकको राम्रै सहभागिता देखियो ।”

गत वैशाख महीनादेखि जारी कैलाली भ्रमण वर्ष २०७५ अन्तर्गत ‘कर्णाली र्याफ्टिङ ज्याम्बोरी२०१९‘ को आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटनपछि स्थानीय तहका जनप्रतिनिधि, सङ्घीय सांसद, पत्रकार, स्थानीयवासी, पर्यटन व्यवसायी लगायतले सामूहिक रुपमा जलयात्राको आनन्द लिएका थिए ।

जलयात्राको आयोजनाले पर्यटन प्रवद्र्धनमा कुनै न कुनै रुपले टेवा पुग्न जाने जलयात्रामा सहभागी सञ्चारकर्मी अविनाश चौधरीले बताउनुभयो । कर्णाली नदी जलयात्राका लागि निकै उपयुक्त भए पनि प्रचारप्रसारको अभावमा यसले व्यावसायिक रुमा भने लिनसकेको छैन । 

सन् २०२० मा नेपालमा भ्रमण वर्ष मनाउने सरकारको लक्ष्यअनुरुप ‘कैलाली भ्रमण वर्ष२०७५‘ सम्बन्धी गतिविधि भइरहेका छन् । कैलालीको कर्णाली चिसापानी सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारका रुपमा रहेको छ । चिसापानीस्थित कर्णाली नदीमा बनेको ‘स्टेट केबुल ब्रिज‘ दक्षिण एशियाकै नमूनाको पुल मानिन्छ । ठूलो सम्भावना भएको क्षेत्र भएकोले भ्रमणवर्ष सम्बन्धी गतिविधि सञ्चालनबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।  

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको पर्यटन प्रवद्र्धनका लागि सरकार र अन्य सरोकारवाल लाग्नुपर्ने बताउनुभयो । सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापा, प्रदेशसभामा प्रतिपक्षी दलका नेता डा रणबहादुर रावल, प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बोहरा, सङ्घीय सांसद झपटबहादुर रावल, जिल्ला समन्वय समितिका संयोजक थापालगायत जलयात्रामा सहभागी हुनुभयो ।  

प्रदेशको राजधानी कैलाली प्रमुख व्यापारिक तथा शैक्षिक केन्द्र मात्र नभइ प्रचुर आर्थिक सम्भावना बोकेको जिल्ला भएकाले पनि यसको प्रचारप्रसारका लागि कैलाली भ्रमण वर्षको आयोजना गरिएको हो । यस क्रममा भ्रमण वर्ष सचिवालयको पहलमा पूर्वी सीमा चिसापानी र दक्षिणी सीमा नाका गौरीफन्टामा पर्यटकलाई आवश्यक सूचना दिन सूचना केन्द्र स्थापनाका साथै चिसापानी बजारलाई जलयात्रा ‘करिडर‘को घोषणासहित त्यहाँ स्वागतद्वारसमेत निर्माण गरिएको भ्रमणवर्ष सचिवालयका संयोजक थापाले बताउनुभयो ।

यस्तै, डल्फिन चरन क्षेत्रमा ‘डल्फिन महोत्सव‘, बर्दगोरिया महोत्सव,रोपाई महोत्सव जस्ता गतिविधि यसअघि सम्पन्न भइसकेका छन् । जिल्लामा चिसापानी क्षेत्र, कर्णाली पुल, राजकाँडा, टीकापुर वृहत् उद्यान, रामसार क्षेत्रको सूचीमा सूचीकृत घोडाघोडी ताल, डल्फिन संरक्षण तथा प्रजनन केन्द्र, वसन्ता जैविक मार्ग जस्ता रमणीय–दर्शनीयस्थल तथा गोदाबरी धाम, शिवपुरी उत्तर रामेश्वरम धाम, बेहडाबाबा, मोहन्याल क्षेत्र, बर्दगोरिया धाम, त्रिवेणी धामजस्ता धार्मिकस्थल छन् । 

यस्तै चुरेपहाडमा नेपालको सबैभन्दा अग्लो पहाड मानिएको गर्भा पहाड  र त्यहाँ रहेको गर्भा दरबार, टीकापुर बङ्गलाजस्ता ऐतिहासिक धरोहर र थारु घरवास, विविध कला, भाषा, संस्कृति, वेषभूषा, चालचलन एवं जल, जङ्गल, जमीनजस्ता सांस्कृतिक तथा प्राकृतिक सम्पदाको बाहुल्यता पनि छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै