• २०८१ बैशाख १४ शुक्रबार

युट्युबका सबैभन्दा धेरै भ्युअर भारतमा , वृद्धिदर पनि संसारकै उच्च

kharibot

काठमाडौं । युट्युबले आफ्ना दर्शकहरूको सबैभन्दा ठूलो सङ्ख्या र दर्शकको वृद्धिदर भारतमा रहेको जनाएको छ ।

युट्युबका अनुसार भारतमा मासिकरुपमा युट्युबका २६ करोड ५० लाख भन्दा बढी सक्रिय प्रयोगकर्ता रहेका छन् । युट्युबले वार्षिक रुपमा आयोजना गर्ने कार्यक्रम ‘ब्र्यान्डकास्ट’ मा युट्युबका अधिकारीहरूले अनलाइन भिडियो सेवाको तीव्र वृद्धि र भारतमा इन्टरनेटको वृद्धि र विकासका बीच अन्तरसम्बन्ध रहेको बताएका थिए ।

कार्यक्रममा युट्युबकी सीइओ सुसान वजसिस्किले मोबाइलमा युट्युबको उपभोग पछिल्लो एक वर्षमा ८५ प्रतिशतले बढेको र त्यसमा ६० प्रतिशत वाच टाइम भारतका ६ ठूला सहरहरू भन्दा बाहिरबाट आएको जानकारी दिएकी थिइन् ।

अघिल्लो महिना युट्युबले भारतमा आफ्ना प्रिमियम सेवा अन्तर्गतका कार्यक्रमहरूको विस्तार गरेको थियो । जसअनुसार युट्युब म्युजीक, युट्युब प्रिमियम र युट्युब ओरिजिनल्स लन्च गरिएका थिए । लन्च गरिएको एक हप्तामै युट्युब म्युजीक ३० लाख भन्दा बढी पटक डाउनलोड गरिएको युट्युबले जनाएको छ ।

निकै सस्तो मोबाइल डाटा मूल्य र स्मार्टफोनको बढ्दो प्रयोगले भारतमा इन्टरनेटका प्रयोगकर्ताहरूको वृद्धिदर अत्याधिक रहेको छ । २०१८ मा मात्र भारतमा इन्टरनेटको प्रयोग गर्नेको सङ्ख्यामा १८ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको थियो । जसमा ६ प्रतिशत वृद्धिदर सहरी क्षेत्रमा र ३५ प्रतिशत ग्रामिण क्षेत्रमा रहेको थियो । चीनपछि सबैभन्दा धेरै इन्टरनेट प्रयोगकर्ता रहेको भारतमा अहिले ५६ करोड इन्टरनेट प्रयोगकर्ता रहेका छन्, जुन २०१९ भित्र ६२ करोड नाघ्ने अनुमान गरिएको छ ।

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै