हरेक लेखकको दोस्रो कृतिको प्रतिस्पर्धा उसकै पहिलो कृतिसँग हुन्छ : रामलाल जोशी

खरीबोट

सुदूरपश्चिमेली समाजको जीवनशैली र दु:ख पीडालाई आफ्नो पहिलो कथासंग्रह 'ऐना'मा उतारेका लेखक रामलाल जोशीले सोही पुस्तकका लागि पाठकको अपार माया पाउनुका साथै वर्ष २०७२ को मदन पुरस्कार समेत प्राप्त गरे । त्यसपछि उनले आफ्नो कथासंग्रहमा उठाएका थारु समुदायको कथालाई उपन्यासमा उतार्ने जमर्को गरे र २०७५ सालको असोज २० मा बुकहिल प्रकाशनबाट उनको पहिलो उपन्यास 'सखी' सार्वजनिक भयो । 'ऐना'अघि जोशीको २०५७ मा ‘हत्केलामा आकाश’ गजलसङ्ग्रह प्रकाशित छ । प्रस्तुत छ हाल धनगढीमा रहेर पूर्णकालीन लेखन र साहित्यिक गतिविधिमा सक्रिय रहेका मदन पुस्कार विजेता लेखक रामलाल जोशीसँग खरीबोटका लागि अनुप जोशीले गरेको कुराकानीको सम्पादित अंश:


'सखी' बजारमा गएको पनि आधा वर्ष बितिसक्यो । यसबीचमा आफ्नो पहिलो उपन्यासबारे के-कस्ता प्रतिक्रिया पाइरहनुभएको छ ?

कुनै पनि कृति बजारमा गएको छ महिनामै त्यसको मूल्याङ्कन खोज्नु मलाई अलि हतार हुन्छ जस्तो लाग्छ । हो, 'सखी' बजारमा गएको छ महिना भयो । यो समयमा धेरैजसो पाठकहरूले 'सखी' पढ्नु भएको छ । पढेका पाठकहरूबाट सकारात्मक प्रतिक्रियाहरू पाइरहेको छु । पाठकहरूका प्रतिक्रियाले म एकदमै उत्साहित भएको छु । 'ऐना'देखि 'सखी'सम्म आइपुग्दा मेरो लेखन सबल, परिष्कृत र भाषाशैली अझै निखारिदै गएको पाठकहरूले प्रतिक्रिया दिनु भएको छ ।

केही पाठक र समीक्षकहरूले 'सखी'लाई 'ऐना'भन्दा पनि सशक्त भन्नु भएको छ । तर पनि धेरै पाठकहरूले पढन अझै बाँकी छ ।

एउटा समाजपरक आन्चलिक आख्यानात्मक कृति लेख्नका लागि कम्तीमा पनि दुई-तीन वर्ष लाग्छ भने प्रकाशन भएको छ महिनामै त्यस कृतिको पूर्ण मूल्याङ्कन कसरी हुन सक्छ ? एउटा कृतिको पूर्ण मूल्यांकन हुन कम्तीमा पनि दश वर्ष लाग्छ । लेखकले त्यो धैर्यता राख्न सक्नुपर्छ । बजारमा आउनेबित्तिकै मेरो कृतिको मूल्याङ्कन भएन भनेर रोइलो गर्नु हुँदैन ।

तर वर्तमान अवस्थामा साहित्यको बजारमा चलेको बिक्री/बितरण, पत्रपत्रिकामा आउने समीक्षा, पाठकहरूले सामाजिक संजालमार्फत दिने प्रतिक्रिया आदिलाई मूल्याङ्कनको आधार मान्ने हो भने छ महिनाको अवधि 'सखी'का लागि अत्यन्तै सन्तोषजनक समय हो ।


नेपालमा अधिकांश मदन पुरस्कार बिजेता लेखकका पुरस्कार पछिका पुस्तकले अपेक्षाकृत सफलता हाँसिल गर्न नसकेको ट्रेन्ड देखिन्छ । 'सखी'लाई कहाँनेर पाउनुहुन्छ?

पुरस्कार पाएको र नपाएको भन्दा पनि हरेक लेखकका लागि दोस्रो कृति चुनौतिपूर्ण नै हुन्छ । पहिलो कृतिले पाठकहरूमा एकदमै अपेक्षा बढाइदिएको हुन्छ । पाठकहरूले एकदमै माथिल्लो स्तरको अपेक्षा लिएर बसेका हुन्छन् र हातमा आउने बित्तिकै अरुसँग होइन स्वयम् लेखककै पूर्वकृतिसँग तुलना गरेर पढ्छन् । त्यसैले हरेक लेखकको दोस्रो कृतिको प्रतिस्पर्धा उसकै पहिलो कृतिसँग हुन्छ । यसरी हेर्ने हो भने पाठकहरूबाट आएको गुनासो , अपजस र आफ्नो कमजोरीलाई लेखकले स्वीकार्नु पर्छ । दोस्रो कृति लेख्ने हरेक लेखक त्यो चुनौतीबाट बेखबर हुँदैन । तर पनि हरेक लेखक नयाँ कृतिसँगै नयाँ भएर आएको हुन्छ । उसको नयाँ अवतारमा नयाँ लोकको परिवेश र आनन्द हुन्छ । त्यसैले पहिलो भन्दा दोस्रो कृतिमा अझ सशक्त हुने या कमजोर हुने कुरा पनि स्वभाविक हो । यसलाई पहाडै बनाएर अब त्यो लेखक सकियो , खत्तम भयो पतन भयो भन्ने अतिवादी हल्ला नेपाली साहित्य क्षेत्र र स्रष्टाका लागि पनि घातक कुरा हुन् । यस्तो अतिवादी प्रवृत्तिबाट कुनै पनि लेखक हतोत्साहित हुन आवस्यकै छैन ।

अर्को कुरा, कुन पाठकलाई कुन कृति मन पर्छ भन्ने कुरा पाठकको रुचि र मनोवृत्तिमा भर पर्ने कुरा हो । पाठकको छनोटको विविधतालाई हेर्ने हो भने जुनसुकै कृतिको मापदण्ड बेग्लाबेग्लै हुन्छ ।

एउटा कृतिको पूर्ण मूल्यांकन हुन कम्तीमा पनि दश वर्ष लाग्छ । लेखकले त्यो धैर्यता राख्न सक्नुपर्छ । बजारमा आउनेबित्तिकै मेरो कृतिको मूल्याङ्कन भएन भनेर रोइलो गर्नु हुँदैन ।

मेरो हकमा भन्नुहुन्छ भने 'ऐना'बाट पाएको सकारात्मक प्रतिक्रियालाई 'सखी'ले अझै बढाएको छ । मलाई थप हौसला र प्रेरणा दिएको छ । स्वयम् मेरो मूल्याङ्कनमा पनि विषयवस्तुको गहिराइ, प्रस्तुतीकरण, शैली र भाषिक दृष्टिकोणले पनि 'सखी' 'ऐना'भन्दा एक कदम माथि छ जस्तो लाग्छ ।


तपाईं गजल लेखनमा रमाइरहनुभएको मान्छे कथाकार र त्यसपछि उपन्यासकारका रुपमा पाठकमाझ छाउनुभयो । तपाईंका कथामा आधारित नाटक पनि मन्चन भए । चलचित्र निर्माणका कुराहरू पनि आइरहेका छन् । फर्केर हेर्दा कस्तो पाउनुहुन्छ आफ्नो साहित्यिक यात्रालाई ?

मेरो साहित्यिक यात्रा अन्जानमै सुरु भएको हो । केही लेखौला या केही गरौंला भनेर योजना बनाई साहित्यमा लागेको होइन । नजानिदो पाराले लागें । सुरुवाती दिनमा कविता लेखें । त्यसपछि गजल र गीत लेखें । उमेर, अनुभव, चेतना र बुझाइले परिपक्व हुँदै गएपछि साहित्यका अरु विधामा कलम चलाएँ । पछिल्लो समयमा आख्यानमा कलम चलाए । कथा लेखनमा पनि कुनै योजना बनाएर आएको होइन । देखेका , भोगेका तर नलेखिएका पश्चिमका केही कुराहरू आख्यान मार्फत लेखौं न भन्ने लागेर लेखें । ती कथाहरूको सङ्ग्रह 'ऐना' आइसकेपछि त्यसले पाठकहरूको अत्याधिक माया पायो । त्यसले मेरो पनि परिचयको दायरा फराकिलो बनायो । 'ऐना'का कथाहरू पढिएनन् मात्रै, नाटकका रुपमा मन्चन समेत भए । केही कथामाथि 'सर्ट मुभी' पनि बन्ने क्रममा छन् ।

दुई वर्षको अवधिमा 'ऐनामाथि' मात्रै पचासभन्दा बढी त थेसिसहरू(शोधपत्र) नै तयार भए । यसरी हेर्दा ऐनाको सफलता र पाठकहरूबाट पाएको अत्यधिक मायाले एउटा जिम्मेवारीबोध भयो र मैले लेख्नु नै पर्छ भन्ने लाग्यो । अझै मिहिनेत गरेर आख्यान नै लेख्नुपर्छ भन्ने लाग्यो र 'सखी' उपन्यास ल्याएँ । यसरी हेर्दा अन्जानमा सुरु भएको मेरो साहित्यिक यात्राले गीत, गजल र कवितामा कलम चलाउँदै अहिले एक जिम्मेवार लेखक बनाइदिएको छ । खुसी लाग्छ । अन्जानमै चालेको पाइला सही मार्गमा परेका रहेछन् ।


तपाईंका आख्यानमा सुदूर पश्चिमको जनजीवन र 'सखी'मा विशेषगरी थारु समुदायको चित्रण गरिएको छ । अन्य जातजातिको कथा लेख्दा समाजशास्त्रीय, सास्कृतिक लगायत के-कस्ता पाटाहरूमा ध्यान पुर्याउनुपर्ने रहेछ? साहित्यमा आंचलिकताको कसरी सफल प्रयोग गर्ने?

हो, कुनै पनि लेखकले प्रतिनिधिमूलक रुपमा आफ्नै वरिपरिका घटना, आफैं हुर्केको समाज र आफैंले भोगेको विषयवस्तुलाई आफ्नो लेखनीमा उठाउँछ । त्यो बढी आधिकारिक, सहज र यथार्थरुपमा पनि आउँछ । यस अर्थमा मेरा कथा र उपन्यासमा पनि म जन्मेको,  हुर्केको र बाँचेको मेरो सुदूर पश्चिमेली समाजका विविध पाटाहरू आएका छन् । विशेषगरी नलेखिएका विषयमा लेख्ने काम एक हिसाबले अवसर हो भने अर्को हिसाबले चुनौती पनि हो । मेरा लागि पनि त्यो चुनौती थियो । किनभने नयाँ विषय वस्तुमाथि लेख्दा विवादित हुने र चिप्लिने पनि खतरा रहन्छ । नेपाली साहित्यमा पश्चिमेली समाजको पाटो गहन रुपमा आएकै थिएन । त्यसैले त्यो ल्याउने कोसिस गरेको हुँ । 'सखी' उपन्यास पनि पश्चिमेली तराइको थारु जनजीवनमाथि आधारित कृति हो । म सानैदेखि थारु गाउमा बसें । थारुहरूकै जनजीवनसँग घुलमिल भए । उनीहरूको रहनसहन जीवनशैलीमा आफैं पनि भिजेको छु, त्यसैले त्यो स्वानुभूति गरेर लेखिएको उपन्यास हो ।

कुनै पनि जातजाति , सस्कृति , र समाजका बारेमा लेख्दा चुनौतीपूर्ण हुन्छ नै । लेखक या त त्यही जातिको हुनु पर्यो या त उसले आफैं अनुभूत गरेको हुनुपर्यो । आन्चलिक जनजीवन ल्याउँदा लेखकले सर्वप्रथम त त्यो समाजका पात्रहरूका बोली , लवज र भाषालाई आफ्नो जिब्रोमा ल्याउन सक्नुपर्छ । अन्यथा रहरले मात्रै कुनै जाति र समाजको चित्रण गर्छु भन्दा चिप्लिने डर हुन्छ । लेखक स्वयम् गलत कुरामा रुमल्लिन सक्छ । त्यसैले जुन भूगोल, जाति, र समाजको बारेमा लेख्ने हो त्यसको गहिरो जानकारी र भोगाइको अनुभूति लेखकले गर्नैपर्छ भन्ने लाग्छ । जबसम्म लेखकले यो मेरो कथा हो भन्ने अनुभूति गर्न सक्दैनम, तबसम्म उसले कुनै समाजको यथार्थ र असली कुरा लेख्नै सक्दैन ।]

त्यसैले जुन भूगोल, जाति, र समाजको बारेमा लेख्ने हो त्यसको गहिरो जानकारी र भोगाइको अनुभूति लेखकले गर्नैपर्छ भन्ने लाग्छ । जबसम्म लेखकले यो मेरो कथा हो भन्ने अनुभूति गर्न सक्दैनम, तबसम्म उसले कुनै समाजको यथार्थ र असली कुरा लेख्नै सक्दैन ।


तपाईंलाई लेखनमा के-कस्ता कुराहरूले छुन्छन् ? तपाईंको लेखनको उदेश्य के हुने गर्छ?

मलाई मात्र होइन जुनसुकै लेखलाई छुने भनेको समवेदनाकै कुराहरूले हो । दु:ख, अभाव, गरिबी, अन्याय, अत्याचार, बिछोड, करुणा यी भावहरू मानवका नैसर्गिक भावहरू हुन् । ती कुराहरूले छुन्छन नै । त्यसबाहेक विश्व परिवेश र देशकै अन्य भागको तुलनामा आफू बाचेको समाज कहाँनेर छ भनेर मेरो मन घोत्लिरहन्छ । मेरो लेखनीले मेरो समाजको विडम्बनाका बारेमा बोल्यो भने मेरो समाजको त्यो विडम्बना भोलि मेटिन्छ । त्यसैले मेरो समाजको विडम्बना र कुरुपतालाई मेट्नु नै मेरो लेखनको ध्येय हो ।


मदन पुरस्कार पाउनुअघि र पछि आफ्नो व्यक्तित्व र लेखकीयतामा के-कस्ता परिवर्तनहरू महसुस गर्नुभयो? आमपाठकको माया र पुरस्कार प्राप्तीले तपाईंको जीवनमा पारेको प्रभाव?

म अन्जानमै साहित्य लेखनमा लागें । पछिपछि साहित्य मेरो लत नै भो । आत्मानन्द र रमाइलोको लागि लेख्थे । कुनै पुरस्कार , मान र सम्मानको आशा र अपेक्षा गरेर कहिल्यै लेखिनँ । त्यसैले मेरो स्वभाव, व्यक्तित्व र मिजासमा कुनै परिवर्तन आएजस्तो लाग्दैन । तर यसको अर्थ यो होइन कि 'ऐना' आइसकेपछि पाठकहरूबाट पाएको माया र नेपाली साहित्य क्षेत्रको एक सम्मानित पुरस्कारले जीवनमा कुनै प्रभाव नै पारेन । पाठकहरूको माया र मदन पुरस्कारले मेरो लेखकीय धर्मलाई बढी जिम्मेवार र सचेत बनाइदियो । मेरो जीवनको लक्ष नै साहित्य बनाइदियो । मैले गरिरहेको लेखन कर्ममा बढी जिम्मेवार, मिहिनेती र परिपक्व हुन प्रेरित गर्यो । फलस्वरुप मलाई एक नितान्त लेखकका रुपमा उभ्याइदियो । अहिले म आफ्नो लेखन र साहित्यिक कर्ममा मात्रै केन्दित भएको छु । त्यो जिम्मेवारीबोध ममा आएको परिवर्तन हो ।


लामो समयसम्म शिक्षण पेशामा आबद्ध रहनुभएको तपाईं लेखकका रुपमा सफलता हाँसिल गरेसँगै अहिले पूर्णकालीन लेखक बन्नुभएको छ । कसरी बित्छ तपाईंको दिनचर्या? नेपालमा लेखनलाई नै आयस्रोतको बाटो बनाउने माहोल कत्तिको छ?

मेरो शिक्षण पेशाभन्दा जेठो त साहित्य लेखन नै हो । तर पहिला केवल रहर र आनन्दका लागि लेखिन्थ्यो । साहित्य लेखेर मात्रै जीवन चल्ने सम्भावना थिएन । त्यसैले जिविकोपार्जनका लागि शिक्षणमा लागें र बाह्र वर्ष पढाएँ । पछिल्लो समयमा पाठकहरूबाट पाएको मायाले लेखेर मात्रै पनि बाँच्न सकिने सम्भावना देखिएकोले मैले शिक्षण पेशा छोडें र लेखनमै लागिरहेको छु । हाल लेखनमै सक्रिय छु । साहित्यिक गतिविधिमा भाग लिन्छु । बाँकी रहेको समय अध्ययन लेखनमै बित्छ । पाठकका हातमा गएका मेरा दुईटा पुस्तकको प्रतिक्रिया र प्रतिफल हेर्दा पाठकको मन जित्न सक्यो भने लेखक लेखेरै बाँच्न सक्ने सम्भावना बढेको छ ।

पछिल्लो समयमा पाठकहरूबाट पाएको मायाले लेखेर मात्रै पनि बाँच्न सकिने सम्भावना देखिएकोले मैले शिक्षण पेशा छोडें र लेखनमै लागिरहेको छु ।


समकालीन नेपाली साहित्यमा आइरहेका आख्यानहरूलाई कसरी हेरिरहनुभएको छ? सबल र कमजोर पक्षहरू के-के देख्नुहुन्छ?

नेपाली साहित्यमा पछिल्लो समयमा खोज केन्द्रित आख्यानहरू आइरहेका छन् । हिजोका दिनमा सत्ताबाटजस्तै लेखकहरूबाट समेत किनारामा पारिएका विविध जातजाति र विभिन्न सस्कृतिमा आधारित खोजमूलक आख्यानहरू अहिले आइरहेका छन् । नेपाली समाजको इन्द्रेणी स्वरुपलाई नेपाली आख्यानले झल्काइरहेको छ । यो सकारात्मक पक्ष हो । तर यस्तो गर्ने लोभमा केही लेखकहरूले केहीदिन घुमेको र देखेको भरमा कुनै समाज , सस्कृति र जनजीवनका बारेमा उपन्यासै लेख्ने प्रचलन बढेको छ । यो अलि हल्का ट्रेन्ड बस्दैछ जस्तो लाग्छ ।


अहिले नयाँ पुस्तकको तयारीमा हुनुहुन्छ कि? आफ्मो आगामी पुस्तक कुन विधा र कस्तो विषयवस्तुमा लेख्ने योजना बनाउनुभएको छ? कहिलेसम्म आउँछ पाठकको हातमा?

तुरुन्तै नयाँ पुस्तक लेख्ने योजना बनाएर लेख्नै थालेको त छैन । यसो फुटकर रचनाहरू लेख्ने काम त भैरहन्छ नै । अब नयाँ वर्षको सुरुवातसँगै नयाँ पुस्तकको खाका बनाउछु होला । मेरो आगामी पुस्तक पनि आख्यान नै आउँछ । ठ्याक्कै यै समयमा ल्याउछु त भन्न सक्दिनँ । तर दुई वर्षभित्रमा अवश्य पाठकका हातमा पर्नेछ ।


अन्त्यमा आफ्ना पाठकहरूलाई के भन्न चाहनुहुन्छ?

मेरा कुराहरू राख्ने अवसर दिनुभएकोमा तपाईंलाई धन्यवाद दिन्छु । मेरा प्रिय पाठक र सबै शुभचिन्तकहरूमा नयाँ वर्षको शुभकामना दिन चाहन्छु ।



z