• २०८१ बैशाख १४ शुक्रबार

स्कूलमा प्राचीन मुद्रा प्रदर्शन

kharibot

साँखु / काठमाडौँ कपन चुनिखेलका दुई युवाले सङ्कलन गरेका नेपाली तथा विदेशका प्राचीन मुद्रा विभिन्न स्कूलमा प्रदर्शनी गर्न शुरु गरेका छन् । बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलका युवा सरोज श्रेष्ठ र दिनेश श्रेष्ठले सङ्कलन गरेका नेपाली पुराना मुद्रा र विदेशी मुद्राको प्रदर्शनी शुरु गरेका हुन् ।

प्राचीन वस्तुलाई जीवन्त बनाऔँ (लेट अस मेक एन्टिक अलाइभ) भन्ने नाराका साथ स्थानीय युवाले मुद्रा चिनाउने कार्यमा सहयोग गरिरहेका छन् । करीब ५० देशका ९० भन्दा बढी मुद्राको प्रदर्शनी चुनिखेल नौलिन माध्यमिक विद्यालयबाट शुरु गरिएको छ ।

अभियन्ता युवाले पुराना नेपाली तथा विभिन्न देशका मुद्रा ठूलो फ्रेममा राखी प्रदर्शनी अभियान शुरु गरेका छन् । उहाँहरुले बूढानीलकण्ठका विभिन्न विद्यालयमा प्रदर्शनी गरिसकेका छन् । त्यसैको निरन्तरता स्वरूप आज बिहान बूढानीलकण्ठ–१३ स्थित पिक पोइन्ट एकेडेमी नेटवर्कबाट सञ्चालित नवपुर चिल्ड्रेन होम स्कूलमा प्रदर्शनी गरेका थिए ।

अभियन्ता सरोजले आफ्नो मामा डा ईश्वर नगरकोटीबाट प्रेरित भएर सङ्कलन गरेका मुद्रा प्रदर्शनीमा राख्ने गरेको बताउनुभयो । नेपालमा पहिलोपटक प्रचलनमा आएको कागजी मुद्रादेखि हालसम्मको कागजी नोटसम्म प्रदर्शनीमा राखिएको थियो । त्यसैगरी भारत, पाकिस्तान, केन्या र सियरालियोनलगायतका कागजी मुद्रासमेत रहेका छन् ।

सो प्रदर्शनीमा विद्यार्थी र अभिभावकले सो मुद्राको अवलोकन गर्नुका साथै विभिन्न देशका मुद्राको विषयमा अभियन्ताबाट जानकारी प्राप्त गरेका थिए । प्रदर्शनीमा स्कूलका विद्यार्थीलाई सरोजले कागजी मुद्राको इतिहास, मुद्राको विकास र मुद्राको स्वरूपका बारेमा जानकारी गराएका थिए । विसं २००२ सालबाट प्रचलनमा आएका नेपाली रुपैयाँदेखि हालसम्म प्रचलनमा रहेका नेपाली तथा विदेशी रुपैयाँलाई विद्यालयमा नै देख्न पाउँदा विद्यार्थी र साथमा आएका अभिभावक उत्साहित बनेका थिए । प्रदर्शनीमा पुराना नेपाली तथा विदेशी नोट नयाँ पुस्तालाई देखाउन र त्यस्ता पुराना पैसाको संरक्षण गर्नपर्छ भन्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रदर्शनी अवलोकन गर्न पाएकोमा अभिभावकले खुशी व्यक्त गर्दै कामको प्रशंसासमेत गरेका थिए ।

प्रचलनमा रहेको नोट देखे पनि नेपालका पुराना र विदेशी नोट नदेखेका विद्यार्थीको लागि सो प्रदर्शनीले नोटका बारेमा ज्ञान दिएको नवपुर चिल्ड्रेन होमका प्रिन्सिपल ईश्वर केसीले बताउनुभयो । विद्यार्थीलाई नेपाली र विदेशी नोटका बारेमा जानकारी गराउने, नोटको हिफाजत गर्न र सङ्कलन गर्न प्रेरित गर्दै, इतिहासका बारेमा जानकारी दिने, कला–संस्कृति चिनाउने उद्देश्यसहित उक्त प्रदर्शनी गरिएको अभियन्ता सरोजले बताए ।

सङ्ग्रह गरेका महत्वपूर्ण मुद्रा अन्य विद्यायलयमा पनि प्रदर्शन गर्ने योजना रहेको उनले जानकारी दिए । नेपाली र विदेशी मुद्रा प्रदर्शनीबाट सङ्कलन भएको रकम आर्थिक अवस्था र शैक्षिक गुणस्तर कमजोर भएका सरकारी विद्यालय तथा सामाजिक कार्यमा खर्च गर्नेे अभियन्ताद्वयले जानकारी दिए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै