• २०८१ बैशाख १४ शुक्रबार

प्राधिकरणको आधिकारिक ट्रेड युनियनको निर्वाचन कार्यक्रममा अवरोध

kharibot

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आधिकारिक ट्रेड युनियनको निर्वाचनको कार्यक्रम सार्वजनिक गरेपछि नेपाली काङ्ग्रेस निकट कर्मचारी सङ्घले अवरोध गरेको छ । 

आधिकारिक ट्रेड युनियनको निर्वाचनको मिति नजिकिँदै गरेको अवस्थामा निर्वाचन अधिकृतको कार्यालयमा आज सङ्घले तालाबन्दी गरेको हो । 

निर्वाचन बिथोल्न खोजिएको भन्दै अन्य प्रतिस्पर्धी सङ्गठनले विरोध गरेपछि प्रहरीले आजै ताला खोलेको छ । निर्वाचन अवरोध गर्ने क्रियाकलापलाई भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले आपत्ति जनाएको छ । 

युनियनका संयोजक रामेश्वर पौडेलले पूर्व घोषित निर्वाचन कार्यक्रमअन्तर्गत आज सबै मतदान केन्द्रमा शुरु मतदाता नामावली प्रकाशन गरिँदै थियो । आधिकारिक tट्रेड युनियनको निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गर्ने, केही मतदाता केन्द्रमा नामावली टाँस्न अवरोध सिर्जना गर्ने, नामावली च्यात्नेजस्ता गतिविधि भएको संयोजक पौडेलले आपत्ति जनाए । 

संयोजक पौडेलले पूर्वघोषित कार्यक्रममा कुनै अवरोध नगर्नसमेत आग्रह गरेका छन् । प्राधिकरणले आगामी वैशाख १९ गते आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्ने कार्यक्रम तय गरेको छ । निर्वाचन अधिकृत बेलप्रसाद शर्माका अनुसार आगामी वैशाख ५ गते उम्मेदवारी दर्ता गर्ने र निर्वाचनमा सहभागी युनियनको नामावली प्रकाशन गर्ने, ६ गते दाबी विरोध गरी स्वीकृत उम्मेदवारको नामावली प्रकाशन गर्ने र वैशाख ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

निर्वाचनको प्रारम्भिक कार्यक्रम शुरु भएकै दिन कर्मचारी सङ्घले निर्वाचन अधिकृतको कार्यकक्षमा ताला लगाएको छ । सङ्घले भने निर्वाचनको वातावरण नभएको भन्दै घोषित मितिमा निर्वाचनमा सहभागी हुन असमर्थ रहेकाले विरोध गर्नुपरेको जनाएको छ । संस्थाको हित विपरीत गतिविधि गरेको भन्दै प्राधिकरणले सङ्घका अध्यक्ष जनार्दन भट्टराईलाई केही दिन पहिले स्पष्टीकरण सोधिएको तर अध्यक्ष भट्टराईले स्पष्टीकरणपत्र बुझ्न अस्वीकार गर्दै आएका छन् । प्राधिकरणले भने पटक पटक आग्रह गर्दासमेत स्पष्टीकरणपत्र नबुझे सार्वजनिक सूचनामार्फत् स्पष्टीकरण सोध्ने तयारी गरेको छ । 

यही चैत २५ गते प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले संस्थाको मर्यादा र हित विपरीतका गतिविधि गर्नेलाई स्पष्टीकरण सोधिएको बताए । प्राधिकरणमा हाल तीन सङ्गठन क्रियाशील छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै