• २०८१ बैशाख १४ शुक्रबार

सर्टिफिकेट (कविता)

kharibot

अलिकति बाबुको अधिकार भएको

अलिकति आमा हकदार भएको

दुवैको मायामा सरदार भएको म

दुवैको जीवनको कान्छो सर्टिफिकेट

आफैं सर्टिफिकेट बनेर सेता कागजका

निर्जीव सर्टिफिकेट थुपारिरहँदा मैले

बिचरा मेरा बूढा बाबू

काँधमा हलोजुवा बोकेर

आसामीको खेतमा

चर्किएको मुटुबाट बीज र

पसिनाले सिंचित गराइरहँदा

सम्बोधित भइरहेछन् हलिको उपनामले

तर बाले कहिल्यै पाएनन् हलिको सर्टिफिकेट

बिचरी मेरि बूढी आमा

घामपानीको प्रवाह नगरी

साहुको खेतमा साहुकै गाँस रोपिरहँदा

सम्बोधित भइरहेछिन्

'जुठी दमिनि;को उपनामले

 

तर आमाले कहिल्यै पाइनन् दमिनिको सर्टिफिकेट

मैले भने प्रत्येक तह तहमा पाइरहेछु

निर्जीव सेता मृत कागजमा लेखिएका

फुस्रा तारिफका सर्टिफिकेट

 

सर्टिफिकेट त पाउनुपर्छ

मेरा बाले उत्कृष्ट हलिको सर्टिफिकेट

मेरी आमाले दमिनिको सर्टिफिकेट

त्यहीँ मात्र सर्टिफिकेटको सही मुल्यांकन हुनेछ

 

त्यसैले मेरो प्यारो छोरा

जब मेरो मृत्यु हुन्छ नि!

मेरो मृत्युपश्चात्

ती बगरका अबोध ढुङ्गाहरुको चित्ता नबनाउनू

बनाऊ त केबल मैले पढेका सिद्धान्तका किताबहरूको

खर्च नगर्नु है मलाई ओढाउने पिताम्बर किन्न

ओढाऊ त मैले थुपारेका सर्टिफिकेटहरू

अनि नभुल्नु मलाइ जलाउन

सर्टिफिकेटमा पनि सान्दार सर्टिफिकेट बालेर

त्यहीँ मात्र मैले उत्कृष्ट सर्टिफिकेट पाउनेछु

जहिले सत्य मृत्युको सर्टफिकेट प्राप्त हुनेछ

सर्टिफिकेटमा सजिएर सर्टिफिकेटले नै जलिरहँदा

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै