काठमाडौँ । भूकम्प गएको चार वर्षपछि काठमाडौँ उपत्यकाका मुख्य तीन ऐतिहासिक सम्पदाको पुनःनिर्माणले गति लिएको छ । पुनःनिर्माण शुरु भएको करीब चार महिनापछि धरहराको काम १३ प्रतिशत सकिएको छ ।
विसं २०७२ वैशाख १२ गते भूकम्पले भत्किएको धरहरा गत पुसदेखि पुनःनिर्माण शुरु गरिएको थियो ।
धरहरा पुनः निर्माणको कामअन्तर्गत अहिले जमीनमुनि पिलर राख्ने काम करीब अन्तिम चरणमा पुगेकाले अबको केही दिनमा जमिन माथिको काम हुनेछ ।
निर्धारित समयमा नै सक्नेगरी काम भइरहेको प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिए ।
सुनधारास्थित २९ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा ११ तलाको बन्नेछ । टुप्पाबाट काठमाडौँ उपत्यका पूरै नियाल्न पाइनेछ । वरपर सङ्ग्रहालय, पानीको फोहरा, नाट्यघर, आकर्षक बगैंँचा, पार्किङ स्थल, खाजाघरलगायत निर्माण गरिनेछन् ।
गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको शिलान्यास गरेका थिए । पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ जहाँ दुई लिफ्ट ( आधुनिक भर्याङ) पनि हुनेछ । साथै एउटा परम्परागत भर्याङ रहनेछ । लिफ्ट र भर्याङ दुवै माध्यमबाट धरहरा चढ्न सकिनेछ ।
दुई वर्षका अवधिमा निर्माण सम्पन्न गर्ने गरी रमन कन्सट्रक्सनले धरहराको पुनःनिर्माण शुरु गरेको हो । कूल रु तीन अर्ब ४८ करोड लगानीमा निर्माण हुने धरहरा २२ तला र ७२ मिटर अग्लो हुनेछ । धरहराको १८ औँ तलामा अवलोकन कक्ष हुनेछ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी कक्ष, पार्किङ स्थल, पसललगायत रहनेछन् । धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने छ । त्यहाँ आउने अवलोकनकर्ताले सवारी साधनको व्यवस्थित पार्किङ गर्न सक्ने गरी पुनःनिर्माण हुनेछ ।
त्यहाँ ३५० गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ । एघारतले धरहरा ९० सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए ।
मानन्धरका अनुसार गोश्वारा हुलाकका कारण काम गर्न समस्या भएपछि भत्काउनुपर्ने देखिएको छ । हुलाक सार्नका लागि आवश्यक पहल गरिएको छ ।
बबरमहलमा कार्यालय सार्नका लागि हुलाक सेवा विभागले तयारी थालेको छ । जगको काम पूरा भएपछि गोश्वारा हुलाक भत्काइने र बाँकी काम गरिने छ ।
ऐतिहासिक सम्पदा निर्माणका लागि कामदार पाउन त्यति सहज छैन । अहिले काष्ठमण्डप र रानीपोखरीको पुनःनिर्माणमा भक्तपुरका सीपयुक्त कामदार खटिएका छन् ।