• २०८१ बैशाख १५ शनिबार

नासाले मंगलग्रहमा पहिलोपल्ट रेकर्ड गर्यो भूकम्प !

kharibot

तस्बिर : नासा

नासाको रोबोटिक इनसाइट ल्याण्डरले इतिहासमा पहिलोपल्ट मंगल ग्रहमा सम्भावित भूकम्प (मार्सक्वेक) को रेकर्ड गरेको छ ।

अमेरिकी स्पेस एजेन्सीले जनाए अनुसार ल्याण्डरको सेस्मिक एक्सपेरिमेन्ट फर इन्टेरियर स्ट्रकचर(एसईआइएस)ले मापन गरेको सेस्मिक सिग्नल अप्रिल ४ मा रेकर्ड गरिएको थियो ।

मंगलग्रहको भित्री तहबाट आएको यस्तो कम्पन अहिलेसम्म रेकर्ड गरिएको पहिलोपल्ट हो । ग्रहको सतहमाथि आँधी लगायतले पैदा गरेका कम्पन भने यसघि पनि मापन गरिएको नासाले जनाएको छ । के कारणले मंगलग्रहमा भूकम्पीय कम्पन महसुस भयो भनेर पत्ता लगाउन वैज्ञानिकहरूले अहिले प्राप्त तथ्यांकहरूको अध्ययन गरिरहेको बताइएको छ ।

तर यो सेस्मिक गतिविधि निकै सानो परिणामको भएकाले यसबाट मंगलग्रहको भित्री भागको बारेमा ठोस तथ्यांक प्राप्त नभएको वैज्ञानिकहरूले जिकिर गरेका छन् । मंगल ग्रहको भित्री भागको अध्ययन गर्नु इनसाइटको प्रमुख उदेश्यमध्ये एक हो । मंगल ग्रहमा पुगेको १२८ औं दिनमा ल्याण्डरले मार्सक्वेक रेकर्ड गरेको हो ।

मंगल ग्रहको सतह निकै शान्त हुने भएकाले विशेष रुपमा निर्माण गरिएको भूकम्प मापन गर्ने यन्त्र सेस्मोमिटर एसईआईलाई ससाना कम्पनहरू पनि पत्ता लगाउन सहज हुन्छ । जबकि पृथ्वीको सतहमा भने महासागर र मौसमले गर्दा उत्पन्न हुने चालले गर्दा सेस्मिक कोलाहल बढी हुने गर्छ । जस्तो कि यही आकारको भूकम्पीय गतिविधि नेपालमा भयो भने त्यो अन्य दर्जनौं कम्पनहरूसँगै कतै हराउने सम्भावना हुन्छ ।  

नासाको एपोलो मिसनका अन्तरिक्षयात्रीहरूले चन्द्रमामा ५ ओटा सेस्मोमिटरहरू जडान गरेका थिए जस्ले सन् १९६९ र १९७७ को बीचमा हजारौं कम्पनहरू मापन गरेका थिए । यसबाट चन्द्रमामा पनि पृथ्वीमा जस्तै सेस्मिक गतिविधि हुने खुलासा भएको थियो । यसबाट वैज्ञानिकहरूलाई चन्द्रमाको भित्री भागको अध्ययन गर्ने अवसर मिलेको थियो ।

नासाले हाल फेरि २०२४ सम्ममा चन्द्रमामा अन्तरिक्षयात्रीहरू पठाउने योजना बनाइरहेको छ जसले मंगल ग्रहको मावन अन्वेषणका लागि पनि बाटो खोल्ने अनुमान गरिएको छ ।

इनसाइटको सेस्मोमिटरको मद्दतले खगोलविदहरूलाई मंगल ग्रह बारे चन्द्रमाको जस्तै गरी अध्ययन गर्ने मौका मिल्नेछ जसलाई ल्याण्डरले डिसेम्बर १९, २०१८ मा यस ग्रहको सतहमा राखेको थियो । मंगल ग्रहको भित्री भागको बारेमा अध्ययन गरेर उनीहरू पृथ्वी र चन्द्रमा लगायतका चट्टानीय दुनियाँको कसरी उत्पत्ति भयो भनेर पत्ता लगाउने अपेक्षा गरेका छन् ।

पृथ्वीमा टेक्टोनिक प्लेटहरूको गतिले गर्दा भूकम्पहरू उत्पन्न हुने गर्छन् । तर मंगल ग्रह र चन्द्रमामा भने यस्ताखाले टेक्टोनिक प्लेटहरू हुँदैनन् जसका वावजुद पनि कम्पनहरू पैदा हुने गर्छन् । निरन्तरको चिस्सिने र खुम्चिने प्रक्रियाले पैदा गर्ने दवाबले गर्दा यी पीण्डहरूमा कम्पन पैदा हुने वैज्ञानिकहरूले बताएका छन् ।

यस्ता ससाना खालका कम्पनहरू महसुस गर्नका लागि निकै अत्याधुनिक प्रविधिको आवश्यक पर्दछ । पृथ्वीमा उच्चकोटिका सेस्मोमिटरहरू जमिनमुनि भल्टहरूमा सिल गरेर राखिएको छ जसले गर्दा उनीहरू तापक्रम र मौसमले गर्दा आउने परिवर्तनहरूबाट वेखबर रहन सक्छन् । इनसाइटको सेस्मिक यन्त्रमा पनि मंगल ग्रहमा हुने भयानक तापक्रमको परिवर्तन र उच्च आँधीबाट पैदा हुने गतिविधिबाट प्रभाव नरहने गरी जेपीएल नामको विन्ड थर्मल सिल्ड लगायतका इन्सुलेटिंग ब्यारियरहरूको प्रयोग गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै