• २०८१ बैशाख २९ शनिबार

नरहरि आचार्यको बन्दी वृत्तान्त ‘गणतन्त्रको यात्रा’ सार्वजनिक

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका नेता नरहरि आचार्यको बन्दी वृत्तान्तमा आधारित ‘गणतन्त्रको यात्रा’ पुस्तकले समग्र देशको गणतान्त्रिक आन्दोलनको सकसपूर्ण यात्रा समेटेको साहित्यकार, राजनीतिक विष्लेषक तथा अधिकारकर्मीले औँल्याएका छन् । 

राजधानीमा उक्त पुस्तकको सार्वजनिकीकरण तथा अन्तरसंवाद कार्यक्रममा उनीहरुले आफ्नै पार्टीमा पराजित भए पनि नीतिमा विजयी भएको भन्दै नेता आचार्यको खुलेर प्रशंसा गरेका थिए ।

पुस्तकमा २५० दिनको बन्दी जीवन मात्रै नभई डेढ दशकको राजनीतिक यात्रासमेत समावेश गरिएको पुस्तक पढ्ने वक्ताले उल्लेख गरेका छन् ।

मानव अधिकारकर्मी कृष्ण पहाडीले आफूले लेखेको पुस्तक नबिर्सिएको बन्दी जस्तै अनुभूति भएको उल्लेख गर्दै उनको ‘गणतन्त्रको यात्रा’लाई इतिहासको आलेखका रुपमा चित्रण गरे । उनले भने,“गणतन्त्र ल्याउने सन्दर्भमा माघ १९ पछिको सबैभन्दा लामो बन्दी जीवन बिताउने मध्यमा एक हुनुहुन्थ्यो नेता आचार्य ।” 

उनले काँग्रेस पार्टीमा गणतन्त्रको मुद्दा उठाउँदा धेरै हप्की खाएको प्रसङ्ग जोड्दै पहाडीले यो पुस्तकमा लेखकले लेखकीय इमान्दारिता निभाएको बताए । “उहाँको नीति विजय भयो, तर पार्टीमा पराजित हुनुभयो, गर्व गर्नुपर्छ, यस्ता योद्धाका बारेमा अझै बायोपिक आउनुपर्छ, उहाँजस्ता व्यक्ति नेपालका पूँजी हुन्”, पहाडीको भनाइ थियो ।

राजनीतिक विष्लेषक प्राध्यापक कृष्ण खनालले किताबमा सहजरुपमा प्रस्तुत भएको बताउँदै नेता आचार्य काङ्ग्रेसको राजनीतिमा पहिलो प्रयोग भएको उल्लेख गरे । उनले गणतन्त्रको मुद्दा लहडमा उठाएको नभई तत्कालीन आवश्यकता हो भन्दै मन्त्री भएकै बेलामा पनि राजाको आलोचनामा उत्रिएर तरङ्ग ल्याएको स्मरण गरे । 

कार्यक्रममा नागरिक अगुवा देवन्द्रराज पाण्डेले यस पुस्तकले यथार्थ चित्रण गरेको बताए । नेता आचार्यकी धर्मपत्नी शारदा शर्माले गणतन्त्रको विषयमा श्रीमान् श्रीमतीबीच नै विवाद हुने गरेको स्मरण गर्दै पुस्तकमा राजनीतिक विषयसँगै पारिवारिक विषय पनि जोडिएकाले आफू पनि एउटा पात्र भएको बताईन् । 

लेखक आचार्यले आन्दोलन र बन्दीका क्रममा आदानप्रदान भएका चिठ्ठी मात्रै झण्डै १०० पृष्ठमा समावेश गरेको उल्लेख गरे । गणतन्त्रको यात्रा भने पनि यथार्थरुपमा बन्दी वृत्तान्त भएको जिकिर गर्दै नेता आचार्यले एक दशकको चिन्तन विकसित भएर यो अवस्थामा आइपुगेको बताए । अहिले विगतभन्दा आफू स्वस्थ हुँदै गएको र देब्रे हातले कम्प्युटर चलाउनसमेत सिकेको उनले जानकारी दिए ।

“ढिलै पुस्तक निकाल्दा पनि फरक पर्ने अवस्था थिएन, तर आफू बिरामी पर्दा सम्झिएर पुस्तक तयार भएको हो”, उनको भनाइ थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय