• २०८१ बैशाख १४ शुक्रबार

जिल्ला अस्पताल हुम्लामा एकै दिन चार जटिल शल्यक्रिया

kharibot

हुम्ला । दुर्गम हिमाली जिल्ला हुम्लामा एक दिन आज चार सुत्केरीको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । जिल्ला अस्पतालले यसभन्दा पहिला पनि सुत्केरीको शल्यक्रिया गरेको थियो ।

अस्पतालमा दुई एमजिडिपी चिकित्सक र अन्य सहयोगी कर्मचारीको व्यवस्था हुँदा सो शल्यक्रिया गर्न सकिएको जिल्ला अस्पतालका डा अमृत विष्टको भनाइ छ । खार्पुनाथ गाउँपलिका–३ रायागाउँ निवासी खतराको मुखमा पुगेकी २८ वर्षीया सुत्केरी जौका टमटाको ज्यान जोगिएको छ । खार्पुनाथ–३ की टमटाको शल्यक्रिया गरी शिशु निकालिएको छ ।

अहिले आमा र शिशु दुवैको स्वास्थ्य अवस्था ठीक रहेको जिल्ला अस्पतालमा कार्यरत डा विष्टलाई उद्धृत गर्दै अनमी सरिता बोहराले बताईन । उनका अनुसार प्रश्रव पीडामा छटपटाइरहेकी टमटालाई उपचारका लागि तीन दिनअघि अस्पताल ल्याइएका थियो ।
स्वास्थ्यचौकी रायमा नियमित टमटाको स्वास्थ्य जाँच गर्दा पेटमा शिशु उल्टो बसेकाले सुत्केरी हुन नजीकै स्वाथ्यचौकीमा सम्भावना नभएपछि जिल्ला अस्पतालमा लगिएको हो ।

हुम्लाजस्तो दुर्गम ठाउँमा जटिल प्रकृतिको शल्याक्रिया सफल हुनु हुम्लाका लागि खुशीको कुरा भएको उनले बताईन । जिल्ला अस्पतालका डा विष्टको नेतृत्वमा डा सिद्धार्थ, अनमी बोहरा, स्वाथ्यकर्मी प्रेम भण्डारीलगायत चिकत्सकको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेका छन् ।

हुम्लालगायत दुर्गम जिल्लामा सङ्घीय र कर्णाली प्रदेश सरकारले एअरलिफ्टमार्फत बिरामीको उद्धार गरिरहेका बेला जिल्ला अस्पतालले आज चार जनाको शल्यक्रिया गरेको छ जसमा दुई मुख्य र दुई सामान्य शल्यक्रिया छन् । 

शल्यक्रियामा संलग्न विशेषज्ञ चिकित्सक एमजिडिपी डा सिद्धार्थ खाती र डा विष्टको सहभागिताले शल्यक्रिया पूर्ण सफल भएको अनमी सरिता बोहराले बताईन । त्यस्तै अर्को स्त्रीरोगका बिरामी र  कान च्यातिएका दुई बिरामीको शल्यक्रिया भएको छ ।

स्काभेटर दुर्घटनामा मङ्गलबार बिहान दुर्घटनामा पर्नुभएका सर्केगाड–६ का विष्णु बुढाको बुधबार हड्डी र मासु जोड्ने ‘टेण्डन रिप्युटर’ शल्यक्रिया जिल्लामै पहिलो पटक भएको पनि अनमी बोहराले जानकारी दिईन ।

जिल्लामा विशेषज्ञ चिकित्सक र पर्याप्त मात्रामा उपकरण नहुँदा बिरामीलाई सेवा दिन नसकिएको र सामान्य विषयमा  पनि जिल्ला बाहिर सिफारिश गर्नुपर्ने बाध्यता अबदेखि हटेको छ । सडकले नछोएको हुम्ला  जिल्ला अस्पतालले पटक पटक साधारण र जटिल शल्यक्रिया गरेको जिल्ला अस्पतालका अनमी बोहराले बताईन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै