• २०८१ बैशाख २६ बुधबार

प्रकृति, पेन्टिङ र मानवमूर्तिहरू

kharibot

हावाका खेलहरू, मेघका गर्जनहरू, आँधी-तुफानका चमत्कारहरू कहाँ छन् यी सबैका रचनागर्भ ? मान्छे, समाज, राष्ट्र, राष्ट्रियता के हो यिनीहरूको उपादेयता ? प्रकृतिको स्वभाव उस्तै छ आजपनि, मौनता । उभिएको छु यतिबेला चक्रपथमा । सायद नियाल्नु छ त्यसको प्रकृति । सायद खोज्नुछ सडकमै बसेर सडकको विवसता ।

ओ किच्चिएको सडक ! ओ थिच्चिएको सडक ! यदि तँ होसमै छस् भने ऊ हेर त सपनै सपनाको नयाँ युग कसरी अगाडि आइरहेको छ तेरो छातिमा टेक्दै टेक्दै ! यौवनले फूलेकी युगकी सुन्दर प्रेमिका त्यसैको विपरित दिशाबाट सुस्तसुस्त आइरहेकी तेरै छातिमाथिबाटै !

म त पागल छु यसै पनि । सायद त्यही भएर देखिरहेछु ती सबै । ओ मौन प्रकृति अब त केही बोलिदेऊ, के हुन् यी सबै मैले देखिरहेका दृश्य? भ्रम या यथार्थ ? कृपया यसरी मौनता साँधेर अझ मलजल नगर न मेरो पागलपनलाई । हो अब मलाई सद्दे हुनुछ । यहाँ हिँडिरहेका अरु मान्छे जस्तै दृष्टिहीन । प्रिय प्रकृति अब मलाई पनि तिमीजस्तै हुन मन लागेको छ एकदम चुप पूरापूर मौन । हो, प्रिय प्रकृति आऊ मेरो आलिङ्गनमा । हाल मलाई अंगालो बनाऊ एकाकार ।

बादलझै सदृश्य चित्रहरू यताउता गरिरहेछन् आकाशमा वा चित्रहरूझैं सदृश्य बादलहरू के चलमलाईरहेछन् आकाशमा ? के तिनीहरूलाई अस्तित्वको नक्सा ठाने भने गलत ठहरिन्छन् मेरा आँखा ? अरे आजसम्म नदेखिएको कस्तो चित्रमय आकाश ? कहाँका शब्दहरू ल्याएर बयान गरुँ त्यो गगन सुन्दरताको ? आकार, एकाकार र निराकार परिवर्तको गतिमा यस्तो तिब्रता ? आखिर कुन चित्रकारको कुचि यस तिब्रतामा चल्न सक्छ ? ओ यस दुनियाका मान्छेहरू ! नसोच्नू तिमीहरूले कि यो संसारमा म इश्वरको अस्तित्व खोजिरहेछु । मलाई त केवल ती चित्रहरू मन परेको हो जो बनिदै मेटिदै गरिरहेछन् । मैले देख्ने सपना जस्तै ।

जीवनमा आवाजको अस्तित्व मेटिएपछि, बोलीहरू हावामै हराउन थालेपछि चिच्याउनुको के अर्थ यदी बलत्कार हुँदैछ आस्थामा भनेपनि । हो त्यसैले लैजा समय मलाई किनारा लगाउँदै लैजा । किनभने अब मलाई पनि एउटा चित्र भएर बस्न मन छ त्यही अस्तित्वको व्यापकतामा । यो शास्त्रीय समाजको संकुचित बहावको लहरमा आकर्षित र विकर्षित हुनुभन्दा प्रकृतिको समग्र वायुमण्डलमा एकाकार हुनुको मजा अर्को अवर्णनीय आनन्द हो ।

ओ मेरो मनभित्र बसेकी प्रेमदेवी जब निस्किएर सतहमा फैलिदैँ फैलिदैँ दुनियाव्याप्त भयौ त्यसपछि यसरी भरियो मेरो मन आत्मरतीले लाग्छ शास्त्रमा वणित कृष्णलिलाको म पुनरव्याख्या गर्दैछु । अझ सोझै भन्ने हो भने भ्रमित शब्दहरूको आँगन निर्मित गरी म त तिमीसँग सम्भोग गर्दैछु । अब भन लठैत पुस्तकका किरा हो यो कसरी निबन्ध भयो ? कतै सुनेको छु निबन्ध साहित्यको गैराख्यान विधा हो । के शब्दको जाल फिँजाएर आफूले पाउन नसक्ने प्रेमिकासंग सम्भोग गर्नु साहित्य हो ?

सम्भोगको रसातलबाट ब्युँझिदा अरबौ खरबौ मानवमूर्तिहरूले ढाकिइसकेको छ धरती । अनियन्त्रित हल्ला र कोलाहल सायद यो विध्वसंको पूर्वसंकेत हुनुपर्छ । तर यस्तो कसरी ? के सन्तुलित सम्भोगबाट सृष्टिको उपक्रममा यति धेरै राक्षसहरू जन्मिन सक्छन् ? सायद हुनसक्छ कतै कसैमाथि सामूहिक बलात्कार भइरहेको छ ।

अरे यो कस्तो रङ्गमञ्चमा छु म ? यो नाटक हो या वास्तविकता ? अनि यी कानहरूले सुनिरहेको चित्कार ? आमा के तँपाइ ठिकठाक हुनुहुन्छ ? तपाईं सुरक्षित हुनुहुन्छ ? ओ मेरी बहिनी, ओ मेरी दिदी, ओ मेरी भान्जी, ओ मेरी छोरी के तिमीहरू सबै सुरक्षित छौ ? ठाने ठान यो मूर्तिहरूले सत्ता चलाएको देशमा मलाई अराजक, तर सुनिश्चित भइसक्यो कि यी हातहरूबाट तिम्रो नीतिशास्त्र च्यातिने जो विपरित छ सँधै प्राकृतिक न्यायको सिद्धान्तभन्दा ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै