• २०८१ बैशाख १४ शुक्रबार

कर्मचारीमाथि हातपात भएको भन्दै नगरपालिकाको काम ठप्प

kharibot

सिरहा । सहकर्मीमाथि हातपात भएको विरोधमा सिरहाको कल्याणपुर नगरपालिकाका कर्मचारीले आज बिहानदेखि कार्यालयको कामकाज ठप्प पारेका छन् । कार्यकक्षमै काम गरिरहेका बेला मङ्गलबार नगरपालिकाका ओभरसियर छेदिकुमार साफीलाई वडा नं ७ रमपुरा भेडियाका दीपेन्द्र यादवसहित आएको समूहले हातपात गरेको भन्दै कर्मचारीले कामकाज ठप्प पारेका हुन् ।

ओभरसियर साफीमाथि हातपात गर्नेलाई कारवाही गर्नुपर्ने मागसहित कर्मचारीले कामकाम ठप्प पर्दा सर्वसाधारण मारमा परेका छन् । गत भदौ–असोजमै वडा नं ७ स्थित आधारभूत विद्यालय रम्पुरा भेडियाको प्राङ्गणमा माटो पुरेको मूल्याङ्कन गरिदिन भन्दै आएका यादवसँग कामको सम्झौता र कार्यादेश ल्याउन भनेपछि यादवसँगै आएका एक जनाले आफूमाथि हातपात गरेको ओभरसेयर साफीले जानकारी दिए । नगर प्रमुख सूर्यनाथ मण्डलले कर्मचारीमाथि भएको हातपातप्रति दुःख व्यक्त गर्दै समस्या समाधानको पहल भइरहेको बताए ।

तेनुवापट्टी सुनसान

स्थानीयवासीको कुटपिटबाट सैनिक जवानको मृत्यु भएपछि सिरहाको वरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टी गाउँ सुनसान बनेको छ । सङ्खुवासभाको खाँदबारीस्थित बराह दल गुल्ममा कार्यरत सैनिक जवान अनिसकुमार सिंहलाई गत वैशाख २८ गते राति तनेवापट्टीका स्थानीयले बिजुलीको पोलमा बाँधेर कुटपिट गर्दा मृत्यु भएपछि गाउँका युवा तथा पुरुष गाउँ छोडेर भागेका हुन् ।

गाउँमा कोही नयाँ व्यक्ति पुग्नासाथ त्यहाँका महिला र वृद्धवृद्धामा त्रास देखिने गरेको छ । सैनिक जवान सिंहको मृत्यु भएको खबरसँगै गाउँमा भएका सबै पुरुष घर छाडेर फरार भएपछि गाउँ नै सुनसानजस्तै बनेको स्थानीयले बताएका छन् ।

बिदामा सोहपुरस्थित घर आएका सैनिक जवान सिंहलाई तनुवापट्टीका स्थानीय वीरेक्षण यादवको घरमा चोरी गरेको आरोपमा स्थानीयले निर्घात कुटपिट गरेका थिए । स्थानीयको कुटपिटबाट गम्भीर घाइते भएका सैनिक जवानको काठमाडाँैस्थित सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा दुई दिनपछि मृत्यु भएको थियो ।

पीडित परिवारबाट किटानी जाहेरी आए पनि तनुवापट्टीका अधिकांश पुरुष घरमा ताला लगाएर फरार रहेकाले अभियुक्तलाई पक्राउ गर्न नसिकएको प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो । अनुसन्धानका लागि केहीलाई नियन्त्रणमा लिइए पनि प्रारम्भिक अनुसन्धानबाट उनीहरुको संलग्नता पुष्टि हुन नसकेकाले आवश्यक परेका बेला उपस्थित हुने गरी छाडिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै