काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरदकुमार गौचनको हत्यारा पत्ता नलगाएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
महासंघले आज बिजुलीबजारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सोमबार दिउँसो नयाँ बानेश्वरमा अज्ञात समूहको गोली लागेर निधन भएका अध्यक्ष गौचनको हत्यारालाई चाँडो खोजी गर्न सरकारसमक्ष माग गरेको हो ।
सम्मेलनमा महासंघका कार्यवाहक अध्यक्ष विष्णुभाई श्रेष्ठले अध्यक्षको निधनले देशभरको निर्माण क्षेत्र शोकाकुल भएको भन्दै निर्माण व्यवसायलाई स्थगित गरेर आन्दोलनमा जानुपरेको बताए । “घटना भएको ४८ घण्टासम्म पनि दोषी पत्ता नलाग्नु मुलुकको गृह क्षेत्रको कमजोरी हो”– कावा अध्यक्ष श्रेष्ठले भने ।
उहाँले अहिलेसम्म महासंघले सांकेतिकरुपमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको बताउँदै घटनाका दोषीलाई कारबाही नगरे आगामी दिनमा कडा आन्दोलन गर्ने बताए ।
आन्दोलन मूल संघर्ष समितिका संयोजक एवं महासंघका पूर्वअध्यक्ष सुकुन्तलाल हीराचनले गौचन हत्याकाण्डमा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने साथै अन्य व्यवसायीको सुरक्षाको मागसमेत गरे ।
महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले अध्यक्षको हत्याले सिंगो देशको अर्थतन्त्रको हत्या भएको भन्दै हत्यारालाई चाँडो खोजी गर्न सरकारलाई आग्रह गरे ।
थकाली सेवा समाजका अध्यक्ष कृष्णकुमारी शेरचनले महासंघको निर्णयअनुसार समाजले मृतक गौचनको शव बुझ्ने बताए । अध्यक्ष शेरचनले मृतक गौचनको थकाली परम्पराअनुसार अन्येष्टि गरिने बताए ।